२० मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको साउथ सिटी हिमाल हस्पिटलले बिरामीको उपचारको नाममा बिरामीसँग ब्रह्मलुट मच्चाएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरकी ३७ बर्षीया राजपती कुमारी दुर्घटनामा परी मंसिर १७ गते अस्पतालमा उपचारका लागि ल्याईएको थियो ।
अस्पतालमा उपचार शुरु गरेपछि हस्पिटल खर्चको नाममा दुईदिनको मात्रै ९५ हजार ६ सय रुपैंया लिएको छ । औषधि खर्चमा मात्रै १३ हजार ८ सय ५४ रुपैंया अस्पतालकै लेटर हेडमा लेखेर दिएको छ । क्यान्टिनको दुईदिनको खाना र खाजाको मात्रै १० हजार ५ सय रुपैंया लिएको छ । अस्पतालले भ्याटबिल सहितको रकम दिनुपर्नेमा अस्पतालको लेटर हेडमा मात्रै लेखेर बिरामीको आफन्तलाई दिएको छ ।
अस्पतालले गरेको ठगीको विरुद्धमा बिरामीको आफन्त जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिन गएको छ । हिमाल इन्स्टिच्युट अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजीको नाममा नर्सिङ तथा सीटीईभीटीको प्राविधिक विषयहरुको अध्यापन गराउदै आएको प्राविधिक शिक्षालयलाई नै अहिले साउथ सिटी हिमाल हस्पिटल प्रालि बनाएको छ ।
नर्सिङ कलेज सञ्चालन गर्नका लागि कम्तीमा एकसय बेडको आफ्नै अस्पताल हुनुपर्ने सरकारले नीति ल्याएपछि हिमाल इन्स्टिच्युट हेल्थ साईन्स एण्ड टेक्नोलोजीमा एकसय बेडको अस्पताल निर्माण गरेर सेवा शुरु गरेको छ । भर्खरै सेवा शुरु गरेको अस्पतालले बिरामीको ढाँड सेक्नने गरी उपचारको नाममा शुल्क लिएको पाइएको हो ।

















