३० मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा हफिज उल्लाह अंसारी सहिको ३ जनाको संयुक्त टोलीले वीरगञ्ज महानगपालिका–६ लाठ गल्लीबाट ३० लाख बराबरको कपडा बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए ।
कुर्तासुरूवाल एक हजार छ सय २७ थान, स्काफ एक हजार सात सय २२ थान, सल दुई हजार सात सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्ककोटलगायत रहेको उनले बताए । बरामद गरिएको सामानको मूल्य ३० लाख ४९ हजार सात सय कायम गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।