१ पुस, काठमाडौँ । अफगानिस्तानको उत्तरी भेगमा एउटा कोइला खानी भत्किँदा ३२ मजदुर फसेका छन् । उनीहरुको उद्धार कार्य जारी छ । अफगानिस्तानको समंगन प्रान्तको पाइन जिल्लामा रहेको खानी एक्कासी भत्केपछि मजदुरहरुबीच भागदौड मच्चिएको थियो ।
उत्खननकर्ता र उद्धारकर्ताहरूका अनुसार खानीको ढोका खोल्न नसकेका कारण खानीमा फसेकाहरु जीवित छन् भन्नेमा आशंका भएको बताइएको छ । अफगानिस्तानको खानी उद्योगहरु कमसल भएका कारण हरेक वर्ष यसप्रकारको घटना हुने गरेका छन् ।
कोइलासँगै अफगानिस्तानमा संगमर्मर, खनिज, सुन र रत्नको उत्खनन गर्ने गरिन्छ यद्दपी उचित उपकरणको अभावमा मजुदुरहरु जोखिम मोलेर काम गर्न बाध्य छन् । सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा १० खानी मजदुर र सन् २०२० जुनमा समंगनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका ७ खानी मजदुरको मृत्यु भएको थियो ।