Logo

२ पुष,काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजस्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिनुभयो । उहाँले यसबाटै प्रहरी कर्मचारीको कार्य दक्षता मूल्यांकन हुने उल्लेख गर्नुभयो । उहाँले राजस्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सिमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढंगले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकले भन्नुभयो, ‘सिमानामा हुने तस्करी तुरुन्त तपाईंहरुले नियन्त्रण गर्नुहोला । मैले यो गोष्ठीपछि तपाईंहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेको छ, राजस्व चुहावट भइरहेको छ, उठ्नुपर्ने राजस्व उठिरहेको छैन भन्नेकुरा सुन्न नपरोस् । तपाईंहरुको मूल्यांकन त्यसकै आधारमा गरिनेछ, मैले यो स्पष्ट भनेको छु । राजस्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सिमानामा अपराधजन्य कामहरु हुने जुन कुराहरु छन्, यो परिणाममुखी ढंगले देखिनुप¥यो नियन्त्रणमा ।’

गृहमन्त्री लेखकले आफूहरु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटका साथ अगाडि बढेको बताउनुभयो । नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संसदीय प्रणाली रहेको बताउनुभयो । —न्युज एजेन्सी नेपाल


सम्बन्धित समाचार