२ पुष,वीरगञ्ज । वीरगञ्जको शैक्षिक धरोहरको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा कर्मचारीहरुले लगाएको ताला अझै खुल्न सकेको छैन ।
कर्मचारी सरुवाको विरोधमा त्रिवि कर्मचारी संघले मंसिर १४ गतेदेखि लगाएको तालाबन्दी नखुल्दा क्याम्पसको सबै प्रशासनिक कामहरु ठप्प भएको छ ।
क्याम्पस प्रशासनले तालाबन्दी खोल्ने पनि कुनै पहल नगरेको आन्दोलनरत पक्षको भनाई छ । क्याम्पसमा लागेको ताला खोल्न क्याम्पस प्रमुख रञ्जित कुमार यादवले कुनै चासो नै नदिएको आन्दोलनकारीहरुले बताएका छन् ।
लेखा शाखामा कार्यरत कर्मचारीलाई क्याम्पस प्रमुखले सिराहा क्याम्पसमा सरुवा गरेको विरोधमा त्रिवि कर्मचारी संघ ठाकुरराम क्याम्पस इकाईले तालाबन्दी सहित आन्दोलन गर्दै आएका छन् ।
क्याम्पसमा तालाबन्दी भएको १७ दिन भइसक्दा समेत अझैसम्म क्याम्पस प्रशासनले तालाबन्दी खोल्ने र आन्दोलनरत पक्षसँग संवाद समेत नगरेको इकाई समितिका अध्यक्ष किशोरी चौधरीले बताए ।
क्याम्पस प्रमुख रञ्जित यादव भने मोबाईल स्वीच अफ गरेर बसेका छन् । उनको मोबाईल नम्बर ९८४५०३६७६० मा सम्पर्क गर्दा मोबाईल स्वीच अफ बताएको छ ।