Logo

५ पुष, वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन सा तेलीको असक्षम नेतृत्वले अहिले पालिका तनावग्रस्त बनेको छ । स्थानीय सरकारमा क्षमताविहिन नेतृत्व निर्वाचित हुँदा के हुन्छ भन्ने उदारहण बहदुरमाई नगरपालिकावासीले भोगी रहेका छन् ।

वडा अध्यक्षहरुलाई बजेटको सिलिङ कम दिएपछि नगरपालिकाको नगरसभा संवैधानिक व्यावस्था अनुसार असार १० गते भित्रमा नगरसभा सम्पन्न हुनु सकेन । असन्तुष्ट वडा अध्यक्षहरुले नगरसभा गर्न सहमति नदिँदा समयमै गर्नुपर्ने बहदुरामाईको नगरसभा नगर प्रमुख तेलीकै कारणले हुन सकेन ।

नगरप्रमुख तेलीले वडा अध्यक्षहरुलाई बजेटको सिलिङ दिन नमान्दा नगरसभा लम्बिएको हो । नगर प्रमुख तेली हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको कार्यकालमा नगरसभा सम्पन्न गर्न चाहेका थिएनन् । कारण प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले नगर प्रमुख तेलीले भने जस्तो उनको स्वार्थ अनुकूल नचल्ने र नियम र कानून विपरित काम गर्न चाहेका थिनन् ।

त्यसैले नगरसभा नगरेको भन्दै मेयर तेलीको चौतर्फी आलोचना र विरोध हुन थालेपछि उनी बाध्य भएर नगरसभा बोलाउन बाध्य भए । २०८१ कार्तिक ८ गते नगरसभा सम्पन्न भयो । तर, नगरसभाबाट पारित बजेटको कार्यान्वयनका लागि अख्तियारी दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुख तेलीले दिएनन् । त्यसले नगरपालिकाको सबै काम प्रभावित भयो ।

कर्मचारीहरुले महिनौसम्म तलब पाएनन् । शिक्षकहरुले तलब नपाएपछि विद्यालयमा अध्ययन अध्यापनमा समेत प्रभाव प¥यो । यति हुँदापनि स्थानीय सरकार प्रमुखको रुपमा रहेका मेयर तेली गम्भीर बनेनन् । उनी एउटा कर्मचारी अर्थात प्रमुख प्रशासकीय अधिकृतकै सरुवाको अडानमा अडिरहे । जसले गर्दा विद्यार्थीहरुलाई आन्दोलनमा आउन बाध्य बनायो ।

नगर प्रमुख तेली र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद कर्मचारी भर्नाको विषयबाट शुरु भएको हो । नगरपालिकाको स्वास्थ्यमा कर्मचारी भर्नाका लागि निकालिएको सूचना अनुसार कर्मचारी राख्ने क्रममा नगर प्रमुख तेलीले आफ्नो मान्छेलाई राख्न खोजेका थिए । तर, भर्ना छनोट प्रकृयामा योग्यता र क्षमताको आधारमा मात्रै लिने प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको अडान थियो ।

त्यहिबाट उनीहरुबीचको विवाद शुरु भएको हो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न नगर प्रमुख तेली लागि रहे । तर, उनी सफल हुन सकेनन् । संयोग नै भनौ, तालुकदार मन्त्रालयका मन्त्री राजकुमार गुप्ताको निर्वाचन क्षेत्र हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको निर्वाचन क्षेत्रकै पालिकामा विवाद हुँनु दुर्भाग्य हो ।

त्यति मात्रै होईन बहालवाला पर्साकै क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवको पार्टी जनता समाजवादी पार्टीका जिल्ला संयोजक हुन नगरप्रमुख तेली । एकजना मन्त्रीको निर्वाचन क्षेत्र र अर्को मन्त्रीका जिल्ला संयोजक नै नगरप्रमुख रहेको पालिकामा यस्तो विवाद हुनु दुखद भएको बुद्धिजीविहरु बताउछन् ।

बहदुरमाई नगरपालिकाको विषयमा तालुकदार मन्त्रालयको सचिवालय पनि जानकार छ । विभिन्न सामाजिक सञ्जाल र समाचार मार्फत जानकारी पाएको र यस विषयमा पहल भईरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका उपस्वकीय सचिव शिव पटेलले जानकारी दिए । उनले भने, ‘समाचारमा पनि हे-यौं । सामाजिक सञ्जालमा पनि आएको छ । यो निकै गम्भीर विषय हो । अब हेरौं । यसमा पहल भईरहेको छ ।’

 

 


सम्बन्धित समाचार