६ पुष,जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको बताएका छन् ।
जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको बताएका हुन् ।
उनले आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए । भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेन्डा आफूले बोकेको बताए ।
डा भट्टराईले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरूले बनाएको बताए । भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको भन्दै उनले भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।