७ पुष,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका यतिखेर चर्चामा छ । स्थानीय तहको सरकार सञ्चालनमा देखिएको समस्याले बहुदरमाई नगरवासी निकै दुखी भएका छन् ।
पर्साको बहुदरमाई नगरपालिका मात्रै होईन ठेकेदार र व्यावसायीलाई निर्वाचित बनाएका स्थानीय सरकारहरुको हालत देखेर अहिले मतदाताहरु निकै निराश बनेका छन् । बह्ुदरमाई नगरपालिकामा राजनीतिक दलहरुको जुँगाको लडाँईले अहिले अवस्था बेहाल बनेको छ ।
६ महिनादेखि सामुदायिक विद्यालयका शिक्षकहरु, कर्मचारीहरुले तलब सुविधा नपाएको गुनासो, स्वास्थ्य संस्थाहरुमा औषधि नभएको गुनासो, विद्यालयमा पठन पाठन नभएको गुनासो बग्रेल्ती छन् । यी गुनासोको सम्बोधन गर्न माग भईरहँदा नगर प्रमुख सिंगासन सा तेलीको भने एकसुत्रीय एजेण्डा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफाको सरुवा भएपछि मात्रै काम गर्न सकिन्छ ।
एउटा सरकारी कर्मचारीदेखि स्थानीय तहको सरकारको नेतृत्व गर्ने सरकार प्रमुख यति पूर्वाग्रही भएर आफ्नो नगरपालिकालाई नै बर्बाद गर्नतर्फ अग्रसर हुनुपर्ने कारण के हो ? यो प्रश्न अब बहुदरमाई नगरपालिकाका नागरिकहरुले सोध्न थालेका छन् । नगर प्रमुख प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनपर्ने अडानमा छन् ।
सरकारी कर्मचारी प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफा आफू त्यहि पालिकामै बस्छु भनेर अड्डी कसेका पनि छैनन् । उनी अहिले जिल्ला समन्वय समितिको समन्वय अधिकारीको रुपमा पनि कार्यरत छन् । तर, नगर प्रमुख तेली एउटा प्रशासकीय अधिकृतको सरुवा नै बटम लाईन बनाएर बसेका छन् ।
उनी प्रमुख प्रशासकीय अधिकृतप्रति यति धेरै असन्तुष्ट हुनुको केही स्वार्थ लुकेको पनि हुनसक्ने आशंकाहरु छन् । किनभने २०८१ सान ७ गते सम्म बहुदरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मुस्तफा नै हुँदा विभिन्न कर्मचारी भर्नामा सहमत हुने नगर प्रमुख तेली त्यसपछि २०८१ असोज २० गते निकालिएको स्वास्थ्य सेवाका लागि अनमी र हे.इ. को भर्नापछि एकाएक नगर प्रमुख तेली र प्रमुख प्रशासकीय अधिकृत मुस्तफाबीच सम्बन्ध बिग्रियो । त्यहिबेला देखि बहुदरमाई नगरपालिकाका प्रमुख तेली आफ्नो हठमा बसिरहेका छन् ।
नगरपालिकाले निकालेको विज्ञापनमा कर्मचारी भर्नाका लागि छनोट हुदै गर्दा नगर प्रमुख तेलीले सूचना निकालेर भर्ना नलिन निर्देशन दिए । उनले आफूले भनेका व्यक्तिहरुलाई स्वास्थ्य शाखामा नियुक्ति नगर्दा असन्तुष्ट भएर भर्ना नै रद्द गरिदिए । नगर प्रमुख तेली त्यतिमा शान्त बसेनन् बरु उनले वडा अध्यक्षहरुलाई समेत बजेटको सिलिङमा अंकुश लगाउने प्रयास गरे । जसले गर्दा उनलाई नगरसभा बोलाउन चुनौती भयो । संघीयताको मूल आधारको रुपमा रहेको वडा कार्यालयहरुलाई बजेटको सिलिङमा अंकुश लगाएर एकतृत बजेट सञ्चालन गर्ने उनको निहित उद्देश्य पूरा हुन वडा अध्यक्षहरुले दिएनन् ।
अहिले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयमा वडा अध्यक्षहरु पनि नगर प्रमुख तेलीको पक्षमा छैनन् । नगर प्रमुख तेलीको गलत गतिविधिले नै बहुदरमाई नगरपालिकामा विकास अवरुद्ध भएको वडा अध्यक्षहरुको आरोप छ । समयमा नगरसभा समेत सम्पन्न गर्न नगरप्रमुख तेलीले सकेनन् । जसोतसो नगरसभा सम्पन्न गरेपनि अहिले फेरी कानून विपरित प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको हितमा काम गरेन भनेर ओठे जवाफ दिदै बजेट सञ्चालनको अख्तियारी दिन मानेका छैनन् । जसले गर्दा अहिले बहुदरमाई नगरपालिकाको अवस्था बेहाल बनेको छ ।
बजेट सञ्चालनको अख्तियारी नपाउँदा वडा कार्यालयहरु समेत बन्द गर्नुपर्ने अवस्था आईलाग्यो । सेवाग्राहीको काम गर्न वडाहरुमा प्रिन्टका लागि कागज नहुने, स्वास्थ्य चौकीहरुमा औषधि नपाईने, सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको पठनपाठन नियमित नहुने जस्ता समस्याहरु एकपछि अर्को थपिदै गयो । तर, नगर प्रमुख तेली भने अझैपनि प्रमुख प्रशासकीय अधिकृतको सरुवा भन्दा एक इञ्च तलमाथि हुन चाहेका छैनन् । उनी भन्छन्, ‘मन्त्रीजी (संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता) लाई भनेको छु ।
अर्को कुनै मान्छे पठाईदिनु काम गर्न तयार छु । तर, उहाँसँग काम गर्दिनँ ।’ स्थानीय सरकार प्रमुख एकजना सरकारी कर्मचारीदेखि यति धेरै डराईरहनुपर्ने कारण किन ? उनी भन्छन्, ‘मन्त्रीजीले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा नै गरिदिनु भएन ।’ तर, रोचक विषय के हो भने प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको दशै अघि नै सरुवा भईसकेको थियो । उनै नगर प्रमुख तेलीले उनको सरुवा रोकेका थिए । बहुदरमाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोईरीका अनुसार प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको तीन पटक सरुवा भएको थियो । तर, सरुवा उनै मेयर तेलीले रोकेका हुन् ।
बहुदरमाई नगरपालिकामा वास्तविक झगडा, मेयर भर्सेस उपमेयर र वडा अध्यक्षहरुको हो । प्रमुख प्रशासकीय अधिकृत तटष्थ बसिदिँदा उनलाई विवादमा पारेको प्रमुख प्रशासकीय अधिकृत मुस्तफा बताउछन् । उनका अनुसार विवाद समाधानका लागि मंसिर २५ गते पर्साका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठक पनि बोलाईएको थियो ।
उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत मुस्तफा उपस्थित भएपनि नगर प्रमुख र उपप्रमुख उपस्थित नभएपछि बैठक हुन सकेन । मंसिर २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत मुस्तफा कार्यालयमा पनि गएका छैनन् । उनी भन्छन्, ‘मेयरसाबले आफूसँग काम गर्न नसक्ने भनेपछि किन जाने भनेर कार्यालयको ल्यापटप समेत जिम्मा दिएर कार्यालयमा गएको छैन । तर, मलाई बदनाम गर्ने काम भईरहेको छ ।’ स्रोतका अनुसार प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोका प्राय खुल्ला नै रहने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतकोमा पनि पहिले खुला रहने गरेकोमा अनावश्यक व्यक्तिहरु प्रवेश गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकक्षमा ताला लगाउन थालेका थिए । ती बाहेक जिन्सी शाखा, लेखा शाखा र विषयगत समितिको शाखामा समेत ताला लगाईएको हुन्छ ।
नगरपालिकामा अघिल्लो दिन तालाबन्दी गर्दासम्म मेयरलाई कुनै चासो चिन्ता भएको थिएन । भोलीपल्ट विद्यार्थीहरुले नगरपालिका कार्यालयमा प्रवेश गरेर कागजपत्र निकाल्दासम्म र फर्निचर निकाल्दासम्म पनि नगरपालिकाको तलब खाएर बसेका नगर प्रहरीहरु र नजिकै रहेको प्रहरीले पनि नरोक्नु तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमात्रै छोडेर अन्य कोठाको फर्निचरहरु तोडफोड र आगजनी हुन थालेपछि सुरक्षा बल र मिडिया सहित मेयर पुग्नुले पनि सुनियोजित नै हो भन्ने अडकलवाजी हुन थालेको छ । बहुदरमाई नगरपालिकाका अन्य राजनीतिक दलका नेताहरुले पनि घटनाको निन्दा र भ्रत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
Bahudarmai Suchanaउपमेयर र ७ जना वडा अध्यक्ष र कार्यपालिका सदस्य सहित ११ जनाद्वारा ध्यानाकर्षण
बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंघासन सा तेलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै कार्यपालिका नियमित सञ्चालन गर्न माग गरेका छन् ।
पालिकाका जिम्मेवार प्रतिनिधिहरुले पटकपटक पालिका सञ्चालनको बारे जानकारी गराई आग्रह गर्दा समेत एक्लो हठ देखाउदै नगरपालिकाको बजेट सञ्चालन गर्न, सभाको निर्णय प्रमाणित नगर्ने, नियमित बोर्ड बैठक नबोलाउने तथा पालिका सञ्चालनको कार्यमा कुनै अग्रसरता नदेखाएको कारण पालिकाका जनताले दुख भोग्नु परेको जनाएका छन् ।
उपमेयर सुष्मा कुश्वाहा, वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्षहरु र चारजना कार्यपालिका सदस्य समेतले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिका सञ्चालनमा अहम भूमिका निर्वाह गर्दै आएका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बाहानामा पालिकालाई बन्धक बनाई लोकतन्त्रको मूल्य मान्यता विपरित काम गरेको जनाउदै यथाशीघ्र बैठक बोलाई नगरपालिकाको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा नगर्न पनि माग गरेका छन् । भ्रष्टाचारमुक्त नगरपालिका बनाउन अहम भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृतबाटै काम गराउन र घटनाको छानविन गरी दोषीलाई कारवाही गरि कार्यपालिका नियमित सञ्चालन गर्न उनीहरुको माग छ ।
CamScanner 12-22-2024 16.58यो पनि पढ्नुहोस् :-
बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनीमा संलग्न दुईजना पक्राउ
बहुदरमाई नगरपालिकामा भएको घटनाको दोषी मेयर तेली नै रहेको नेता पटेलको आरोप (भिडियो सहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकै क्षेत्रको पालिकामा तनाव, आन्दोलित विद्यार्थीहरुद्वारा गाउँपालिकामा तोडफोड र आगजनी
आन्दोलित विद्यार्थीले बहुदरमाई नगरपालिका भित्रका कागजातमा आगो लगाए