९ पुष, बारा । बाराको जीतपुरसिमरा ११ मा शनिबार भेटिएका राजकुमार रुम्बाको शवको पोष्टमार्टम रिर्पोट आएपछि हत्या भएको खुलेको छ । उनको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको छ । बारा प्रहरी प्रमुख महेन्द्र खड्काका अनुसार शव परिक्षणमा उनको शरिरमा गोली भेटिएको छ ।
सानो हतियारको प्रयोग गरेर सुनियोजित रुपमा रुम्बाको हत्या भएको भन्दै प्रहरी प्रमुख खड्काले हत्या कसले र किन गरेको हो भन्ने विषयमा अनुसन्धान तिब्र बनाइएको बताए । गहन अनुसन्धानका लागि छुटै प्रहरी टोली परिचालन गरिएको खड्काले जानकारी दिए ।
मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी (भान्से) पदमा कार्यरत थिए । राष्ट्रिय अनुसन्धान बाराका इन्सपेक्टर श्रीकान्त तिवारीको कारमै रुम्बाको शव शनिबार विहान भेटिएको थियो ।
इन्स्पेक्टर तिवारीको गाडी लिएर रुम्बा शुक्रबार राति साढे ९ बजे कलैयातर्फ निस्केका एक अधिकारीको भनाईलाई आधार मानेर अनुसन्धान थालिएको छ । मृतक रुम्बाको इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी थियो । तर उनी पछिल्लो समय सिमरा विमानस्थलको सुरक्षागार्डमा कार्यरत थिए ।
रुम्बाको हत्याबारे अनुसन्धानका क्रममा प्रहरीले राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर तिवारीसंग पनि सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले भने “रुम्बा र तिवारीको सम्बन्ध कस्तो थियो भन्ने विषयमा पनि अनुसन्धान भईरहेको छ । रुम्बाले आफ्नो गाडी लिएर गएकोबारे अनुसन्धान विभागका इन्स्पेक्टर तिवारीले प्रहरीलाई जानकारी दिएका छैनन् ।”