९ पुष, वीरगञ्ज । पछिल्लो ६ महिनामा मधेश प्रदेशमा मात्र ३६ जनाको हत्या भएको छ । २४ जना पुरुष, १० महिला र दुईजना बालबालिकाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाको छ ।
प्रहरी तथ्यांक अनुसार यो अवधिमा सर्लाहीमा ६ जना, बारा र महोत्तरीमा ६/६ जना, धनुषा र सिरहामा ५÷५ जना, रौतहटमा ४ जना, सप्तरीमा ३ र पर्सामा १ जना छन् । हत्या हुनेमा सर्लाहीमा ४ पुरुष र २ महिला छन् ।
यस्तै सिरहामा ५ जना पुरुष छन् भने महोत्तरीमा ३ महिला, एक बालिका र २ जना पुरुष छन् । बारामा पुरुष ३ र महिला २ जना र एक बालक रहेको तथ्यांकमा उल्लेख छ ।
यस्तै धनुषामा ३ पुरुष र २ महिला, रौतहटमा ३ जना पुरुष र एक महिला रहेका छन् । त्यस्तै सप्तरीमा ३ जना महिला र पर्सामा १ पुरुष रहेको मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
समाजिक अभिन्यता प्रकाश थारुले समाज उच्छृङ्खल गतिविधि गरिरहेकाहरूबाट असुरक्षित बन्दै गएको बताउँछन् । अपराध बढ्नुमा जनचेतनाको अभाव देखिएको भन्दै उनले सावधानी अपनाउनु आवश्यक रहेको बताए ।
प्रहरीले अपराध न्यूनीकरण योजना बनाएर काम नगर्दा अपराध बढेको एक प्रहरी अधिकारी स्वीकार गर्छन् । उनी भन्छन्, ‘हत्या भएपछि अनुसन्धान हुन्छ । तर यस्तो घटना कसरी न्यूनीकरण गर्ने भनेर कार्ययोजना बनाएर प्रहरी संगठनले काम गरेको छैन । यो काम प्रहरीको प्राथमिकतामै छैन ।’
ती प्रहरी अधिकारीका अनुसार हत्याका घटना बढ्नुमा खुल्ला सीमा, आपराधिक मनोविज्ञान, तस्करी लगायतलाई बेवास्ता गर्नु, सीमामा वारपार गर्ने व्यक्ति र सवारीसाधनको रेकर्ड नहुनु, लागुऔषध, अनैतिक प्रेम सम्बन्ध, क्षणिक प्रेम सम्बन्ध लगायत कारण रहेका छन् ।
खुला सीमा एकातिर छ भने जनसंख्याको चाप बढिरहेको छ । प्रहरीले ठोस योजना बनाएर काम गर्न नसक्दा खुला बोर्डर, जनसंख्याको चाप, सामाजिक सञ्जाल, जनचेतनाको अभाव लगायतको कारण आपराधिक घटना बढेको सुरक्षाविद्हरूको विश्लेषण छ ।