१४ पुष,वीरगञ्ज । आज भन्दा १ बर्ष १ महिना ६ दिन अघि अर्थात २०८० साल मंसिर ७ गते पर्साको पोखरियामा नेकपा एमालेको भव्य पार्टी प्रवेश कार्यक्रम भयो । उक्त पार्टी प्रवेश कार्यक्रम देशभर मै बदनामी कमाएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रवेश गर्ने भएकोले कार्यक्रम भव्य बनाईएको थियो ।
उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष केपी ओली आएर विवादित छवि भएका व्यक्ति हरिनारायण रौनियार सहित पोखरिया नगरपालिकाको उपमेयरका प्रत्यासी लगायतका व्यक्तिहरुलाई पार्टी प्रवेश गरायो । नेकपा एमाले पार्टीमा हरिनारायण रौनियारको प्रवेशले पर्सा क्षेत्र नम्बर ३ का सांसद तथा हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई असर पर्ने भएकोले उनी भित्री रुपमा खुशी देखिएका थिएनन् । उनको निर्वाचन क्षेत्रमा आर्थिक रुपमा पनि उनलाई चुनौती दिने र पैसाले जे पनि गर्नपछि नपर्ने व्यक्तिको पार्टी प्रवेशले उनलाई झस्काएको थियो ।
पर्सामा नेकपा एमालेको नदेखिने गरी भएको गुटगत राजनीतिको एउटा कडी हो । हरिनारायण रौनियारको एमाले पार्टीमा प्रवेश । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका सचिव तथा तत्कालिन कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठले भाषणमै अब मिलेर जाने भनेर बोलेका थिए । उनको भनाईको भित्री आशय हरिनारायण रौनियारको प्रवेशले एमालेका नेता राजकुमार गुप्तालाई प्रभाव पर्नसक्ने भएकाले उनी नरिसाउन् भन्ने बुझ्न सकिन्थ्यो । किनभने नेकपा एमालेको भातृ संस्था लोकतान्त्रिक मधेसी संगठनका कारणले महासेठ र गुप्ताबीच सम्बन्धी नजिक थियो ।
पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा राजकुमार गुप्ताको बढ्दै गएको राजनीतिक प्रभावलाई रोक्नका लागि पोखरिया नगरपालिकाका प्रमुख तथा संविधानसभा सदस्य प्रधुम्न चौहान पनि भित्री रुपमा सक्रिय थिए । उनी मात्रै होईन एमाले पर्सामा अहिलेपनि राजकुमार गुप्ताको विपक्षमा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा लगायतका नेताहरु रहेका छन् । पुस १४ गते फेरी पर्साको सखुवा प्रसौनी गाउँपालिकाको पँचगवामा नेकपा एमालेले पार्टी प्रवेशको आयोजना गरेको छ ।
पार्टी प्रवेश कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् । प्रदीप जयसवाल हाल मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालका सहोदर भाई हुन् ।
प्रदीप जयसवाल यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा उनी एमालेका युवा नेता जसवन्त यादवसँग पराजित भएका हुन् । उनका दाई मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल स्वतन्त्र उम्मेदवारबाट विजयी भएपनि मन्त्री पद पाउने भएपछि एमालेमा प्रवेश गरेका थिए । जयसवाल दाजुभाई पनि वन्यजन्तु सिकारको आरोपमा मुद्दा खेपेका व्यक्ति हुन् ।
हरिण मारेको आरोपमा प्रमोद जयसवालमाथि मुद्दा रहेको छ । उनको गाडी वन्यजन्तु तस्करीमा प्रयोग भएको पाईएको थियो । सखुवा प्रसौनी गाउँपालिकाका हालका अध्यक्ष जसवन्त यादवको प्रतिस्पर्धीको रुपमा प्रदीपलाई एमालेले भित्र्याउन लागेको विश्लेषण गरिँदै छ ।
आफ्नो राजनीति सुरक्षित राख्न एमाले पर्सामा पार्टी प्रवेशको प्रतिस्पर्धा चलिरहेको छ । पर्साको सखुवा प्रसौनीमा आज हुने पार्टी प्रवेशमा भने हाल सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको प्रतिस्पर्धीको रुपमा देखाउन प्रदीप जयसवाललाई प्रवेश गर्न राजकुमार गुप्तापक्षहरु लागेको बताईएको छ ।
जसवन्त यादव मधेसवादी दलको विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । उनी तत्कालिन मधेसी जनअधिकार फोरम नेपालको विद्यार्थी संगठन मधेसी विद्यार्थी फोरमका नेता थिए । मधेस आन्दोलनमा उनको सक्रिय भूमिका रहेको थियो । राजकुमार गुप्ताले नै जसवन्त यादवलाई पार्टीमा प्रवेश गराएका थिए ।
तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा गुप्ता र यादवबीच दूरी बढ्यो । जसवन्त यादवका नजिकका स्थानीय निल गिरीलाई प्रदेशसभामा चुनाव लडाउन चाहान्थे जसवन्त । तर, गिरीलाई टिकट नदिएर २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा निर्वाचित मञ्जुर अन्सारीलाई एमालेमा प्रवेश गराएर टिकट दिएपछि गुप्ता र यादवबीच झन दूरी बढ्यो ।
अहिले एमालेबाट मधेस प्रदेशमा खेलकुद तथा समाजकल्याण मन्त्री बनेका प्रमोद जयसवाल स्वतन्त्रबाट निर्वाचित भएका थिए । संघीय समाजवादीबाट जसपा नेपाल बनेको पार्टीबाटै स्थानीय तहमा प्रदीप जयसवाल जसवन्त यादवसँग पराजित भए । त्यहि आन्तरिक द्वन्द्व अहिलेसम्म भुसको आगो जस्तै सल्किरहेको छ ।
गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि देशभरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा सखुवा प्रसौनी गाउँपालिकामा यादवले गुप्ताले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिएनन् । यादव सिधै बालुवाटार गएर उनलाई सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत सुनिल चौरसियालाई लिएर आए ।
सत्तामा बसेर हेलिकप्टर सयर गरी पर्सा जिल्लामा आउने राजनीतिक दलको नेतृत्व मध्य केपी ओली सबैभन्दा बढी आउने नेता हुन् । उनी यसअघि पनि पर्साको जगरनाथपुरमा जालिम मियाँलाई प्रवेश गराउन हेलिकप्टर चढेर आएका थिए ।