१५ पुष, वीरगञ्ज । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जले मंसिर २० गतेदेखि नै धान खरिद शुरु गरेपनि किसानले भने न्यून परिमाणमा धान बिक्री गर्न ल्याएका छन् ।
नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी बजारमा धानको मूल्य भएका कारण खाद्य व्यावस्था तथा व्यापार कम्पनीमा धान बिक्रीका लागि किसानले नल्याएका हुन् ।
मंसिर २० गतेदेखि धान खरिद गर्न शुरु गरेको कम्पनीले अहिलेसम्म करिब एक हजार पाँचसय क्वीण्टल मात्रै धान खरिद गरेको कम्पनीका प्रमुख पंकज झाले जानकारी दिए । उनका अनुसार कम्पनीले अहिले सोना मन्सुली मध्य धान मात्रै खरिद गरेको छ ।
कम्पनीका प्रमुख झा का अनुसार सरकारले सोना मन्सुली (मध्यम) धानको समर्थन मूल्य ३ हजार पाँच सय ८० रुपैंया ६२ पैसा निर्धारण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा रहेको स्थानीय मूल्य निर्धारण समितिले जीरा मसिनो चामलको भने ४ हजार रुपैंया प्रति क्वीण्टल मूल्य निर्धारण गरेपनि अहिलेसम्म एउटा धान बिक्रीका लागि भने किसानले नल्याएको प्रमुख झाले बताए ।
सरकारले तोकेको समर्थन मूल्य बजार मूल्य भन्दा कम रहेको र किसानले धान बिक्रीका लागि ल्याउँदा बाटोमा प्रहरीले समेत दुःख दिने गरेको गुनासो गरेका छन् ।
सशस्त्र प्रहरी र र नेपाल प्रहरीले धान लोड गरेर ल्याउने ट्याक्टरहरुलाई विनाकारण रोकेर दुःख दिने गरेका कारण किसानहरु गाउँबाट धान बिक्रीका लागि ल्याएका छैनन् ।