Logo

१५ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आधुनिक सुरक्षा प्रविधि जडान गरी सहरलाई सुरक्षित र भयमुक्त बनाउने उद्देश्यले ‘सेफर वीरगञ्ज’ परियोजनाका लागि त्रीपक्षीय सम्झौता गरेको छ ।
वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, र जिल्ला प्रहरी कार्यालय पर्साबीच त्रीपक्षीय सम्झौता भएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा, महानगर क्षेत्रभर सिसिटिभी क्यामेराको सञ्जाल विस्तार गरी सार्वजनिक सुरक्षा सुदृढ गर्ने योजनाका साथ आज सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्ला वर्षहरूमा वीरगञ्जमा चोरी, डकैती, र अन्य आपराधिक गतिविधि बढ्दै गएकाले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न ‘सेफर वीरगञ्ज’ सहमतिलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।

सिसिटिभी क्यामेराको सञ्जालले सहरका प्रमुख क्षेत्रहरूमा निगरानीको दायरा बढाउनुका साथै अपराध रोकथाममा ठोस योगदान पु¥याउने विश्वास छ । सम्झौता अनुसार, वीरगञ्ज महानगरपालिकाले यस योजनामा प्रमुख भूमिका निर्वाह गर्नेछ ।

स्थानीय बैंक, वित्तीय संस्था, व्यावसायिक प्रतिष्ठान, तथा सरोकारवालाहरूबाट सहयोग जुटाउन महानगरपालिकाले पहल गर्नेे साथै, सिसिटिभी क्यामेरा र सम्बन्धित उपकरणहरूको जडान, मर्मत, रेखदेख, र बजेट विनियोजनको जिम्मेवारी महानगरपालिकाले लिने बताएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले महानगर र प्रहरीसँग समन्वय गरी सिसिटिभी क्यामेराको सञ्जाल विस्तार गर्ने र आवश्यक आर्थिक स्रोत जुटाउनेछ । सहयोग सङ्कलनका लागि छुट्टै बैंक खाता स्थापना गरी सङ्कलित रकमको पारदर्शिता पनि सुनिश्चित गरिनेछ ।

त्यसै गरी, जिल्ला प्रहरी कार्यालय पर्साले सिसिटिभी क्यामेरा र उपकरणहरूको सुरक्षाको जिम्मा लिँदै परियोजनाको प्राविधिक पक्ष व्यवस्थापनमा सहयोग पु¥याउनेछ ।

प्रहरी कार्यालय परिसरमा स्थापना गरिने कन्ट्रोल रुमको सञ्चालन, निगरानी, र मर्मत सम्भार पनि प्रहरीको जिम्मेवारीमा रहनेछ । परियोजनाका लागि सङ्कलित रकमको खर्च विवरण सम्बन्धित निकायलाई नियमित रूपमा उपलब्ध गराइनेछ ।
सम्झौतामा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले हस्ताक्षर गर्नुका साथै परियोजनालाई सफल बनाउन आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 


सम्बन्धित समाचार