१६ पुष,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै जनता समाजवादी पार्टी नेपाल पर्साले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
जनता समाजवादी पार्टी नेपाल पर्साले घटना भएको १० दिन बितिसक्दा पनि दोषीलाई कारबाही नभएपछि मंगलबार वीरगञ्ज प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निकालिएको र्याली नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा गएर कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन ज्ञापनपत्र मार्फत जसपा नेपालले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छिट्टै घटनाको दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । ‘यो घटना गम्भीर, हामी चाँडै अनुसन्धान गरेर पीडितलाई राहत दिलाउने काम गर्छौ,’ उनको आश्वासन छ ।
पुस ६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर निवासी हरेन्द्र यादवको धानबालीमा आगो लगाइएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नो जग्गामा गर्न दिएको भन्दै एक पक्षले आगो लगाइदिएको पीडित पक्षहरुको आरोप छ । यादवको साढे तीन विघाको २ सय क्वीन्टल भन्दा बढी धानबालीमा आगो लगाइएको आरोप लगाएको छ ।