Logo

१६ पुष,वीरगञ्ज । वीरगञ्ज नाका भएर एकबर्षमा दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्ज स्थित अध्यागमन कार्यालयका अनुसार वीरगन्ज नाका भएर २०२४ को जनवरी महिनादेखि डिसेम्बर ३० तारिक हिजोसम्म वीरगञ्ज नाकाबाट एकहजार दुईसय २१ जना पुरुष र ८ सय ८५ जना महिला गरी दुईहजार ८६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

त्यस्तै ८ सय ३५ पुरुष र ७ सय ३९ जना महिला गरी एक हजार पाँचसय ७४ जना पर्यटक वीरगञ्ज नाका भएर भारततर्फ गएको अध्यागमन कार्यालय वीरगञ्जका प्रमुख सुजित कुमार साहले बताए । अध्यागमन प्रमुख साहका अनुसार वीरगञ्ज नाका भएर ८४ देशका पर्यटकहरु नेपाल भित्रिएका छन् ।

त्यस मध्य सबैभन्दा बढी थाईल्याण्डका पर्यटकहरु रहेका छन् । थाईल्याण्डबाट दुईसय १२ जना पर्यटक वीरगन्ज नाकाबाट नेपाल आएका छन् । त्यस्तै सबैभन्दा बढी ७१४ जना पर्यटक भारत गएका छन् । वीरगन्ज नाका भएर आउने पर्यटकहरुबाट अध्यागमन कार्यालय वीरगञ्जले ७० हजार १२३.३९ डलर अर्थात ९३ लाख ४९ हजार ३९४ रुपैंया ३९ पैसा राजस्व पनि संकलन गरेको अध्यागमन प्रमुख साहले बताए ।

भारतबाट वीरगन्ज नाका भएर नेपाल प्रवेश गर्नेहरुलाई अनअराईभल भिसा दिए बापत राजस्व संकलन गरिएको अध्यागमन प्रमुख साहले बताए । अघिल्लो बर्ष २०२३ को जनवरीदेखि डिसेम्बर ३१ सम्म अध्यागमन कार्यालयमा दुई हजार ४१ जना पर्यटक भित्रिएको र एकहजार ४६ जना वीरगञ्ज नाकाबाट बाहिरिएको उहाँले बताए । अघिल्लो बर्ष सबैभन्दा बढी अमेरिकाबाट दुईसय ४१ जना पर्यटक वीरगन्ज भित्रिएको थियो ।

भने, पाँचसय नौजना पर्यटक वरिगन्जबाट भारततर्फ बाहिरिदा ९७ लाख १७ हजार नौसय ७९ राजस्व संकलन भएको थियो । अघिल्लो बर्षको तुलनामा यसबर्ष पर्यटकको संख्या घट्दा राजस्व संकलन पनि कम भएको छ । पूर्वको काकडभिटा नाकामा पनि अध्यागमन कार्यालय सञ्चालनमा आउँदा वीरगन्ज नाकाबाट पर्यटकहरुको संख्या घटेको प्रमुख साहले बताए ।


सम्बन्धित समाचार