१७ पुष,काठमाडौँ । नेकपा एमालेबाट निकालिएका भीम रावलले अध्यक्ष केपी ओलीको शक्ति उन्मादका कारण आफ्नो सदस्यता खारेजी भएको बताएका छन् । पार्टीबाट निकालिएको एक हप्तापछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्ष ओलीले निरंकुशता देखाउँदा आफ्नो सदस्यता खारेजी भएको दाबी गरेका हुन् ।
‘केपी ओलीमा रहेको दम्भ, बदलाको भावना, निषेध, दुराग्रह स्पष्ट भयो । मलाई कुरा गर्न चाहेन भन्ने । तर स्पष्टीकरणमा केही सम्बोधन नगरी पत्र पठाइयो । पार्टी सदस्य नै नभएको भए के को स्पष्टीकरण ?,’ रावलले प्रश्न गर्दै भने, ‘विचौलियासँग हातेमालो गर्ने मसँग कुरा नगर्ने । यो भनेको दुष्टता हो । इमान्दारलाई दुत्कार्नुले आश्चर्य लागेको छैन । केपी ओलको उन्मादले मेरो सदस्यता खारेजीको कारण बनेको हो ।’
एमालेमा अन्तरविरोध चर्काउने ओली नै भएको दाबी उनले गरे ।
‘शत्रुगत व्यवहार गरे पनि पार्टी छोडिँन । पार्टीमा गुनासो गरिँन । वार्ता टोली र केपी ओलीसँग कुरा गरे । तर पछि फेरि वार्ता गर्ने भनेर मलाई खबर गरिएन,’ रावलले भने, ‘प्रदीप ज्ञवाली र कर्ण थापाको प्रयासपछि ओलीबाटै भेटघाटको कार्यक्रम रद्द गरियो । पटक–पटक वार्ता गर्न खोज्दा पनि आफूलाई बेवास्ता गरियो ।’
एमालेमा नरहे पनि नेपाल र नेपालीको भविष्य अगाडि बढाउन कटिबद्ध भएको उनले बताएका छन् । अब नयाँ ढंगले अगाडि बढ्न खोजेको भन्दै उनले सहयोगको लागि सबै दलका नेता, कार्यकर्ता, सदस्यसहितका नागरिकलाई आह्वान गरेका छन् ।
राष्ट्रिय स्वाधीनता र स्वाभिमानको झण्डा उठाउन आफू तयार रहेको उनले बताएका छन् ।