१८ पुष,गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछाने सहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ ।
मङ्गलबार र बुधबार सरकारी वकिलको बहस सकिए पछि बिहीबार देखि जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीको बहस शुरु हुने जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिए ।
प्रतिवादीहरुको बयान सकिए लगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबार देखि थुनचेक बहस शुरु भएको थियो । बधुबार भएको बहसमा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । जिल्ला न्यायाधिवक्ता काफ्लेले जाहेरवालाका तर्फ बाट कानून व्यवसायीको बहस सकिए पछि प्रतिवादी पक्षका कानून व्यवसायीको बहस शुरु हुने बताए ।
“प्रतिवादी तर्फका कानून व्यवसायीहरुको बहस सकिए पछि पुनः हाम्रो तर्फ बाट जवाफी बहस शुरु हुन्छ”, उनले भने । थुनचेक बहस पछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछाने सहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्व डि.आइ.जी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत माथि थुनचेक बहस भइरहेको हो ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछाने माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
सभापति लामिछाने सहित १९ जना विरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछाने सँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुर अनुसारको बिगो र सजायको माग सहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँ बाट पक्राउ परेका थिए ।
उहाँ माथि कास्की सहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछाने माथि लागेको छ ।
नेपाल प्रहरीका पूर्व डी.आइ.जी. जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राई लगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
रासस