१८ पुष,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, पर्सा तथा वीरगञ्ज कलेज, श्रीपुर बीच विभिन्न सात बुँदे सम्झौता भएको छ । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुर, वीरगञ्जबीच पर्सा जिल्लाको शैक्षिक, सामाजिक, अर्थराजनीतिक क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्ने, पर्सा जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि दुवै पक्षको सहकार्यमा विभिन्न बहस, अन्तरक्रिया गरिने सम्झौता भएको छ ।
त्यस्तै पर्सा जिल्लाको पत्रकारिता क्षेत्रको प्रवद्र्धन र कार्यरत पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने, जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता वृद्धिका लागि वीरगञ्ज कलेजमा सञ्चालित पत्रकारिता विषयमा अध्ययनको व्यवस्था मिलाइने पनि दुवैपक्षबीच सम्झौता भएको छ ।
पत्रकारिता अध्ययन गर्न चाहने पहिलो पक्षका सदस्य एवम् सञ्चारकर्मीलाई दोस्रो पक्षले प्रतिवर्ष कुल पाँच हजारमा कक्षा ११ र १२ वीरगञ्ज स्कूल मार्फत अध्ययन गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाण पत्र शुल्क विद्यार्थीले वहन गर्नुपर्ने छ ।
दुवै पक्षले आवश्यकता अनुसार स्थानीय अन्य सरोकारहरुको सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।समझदारीको समयावधि चालु शैक्षिक सत्रसहित ३ शैक्षिक सत्रसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको समझदारीमा अर्वाध थप्न सकिने समझदारी पत्रमा जनाईएको छ ।
समझदारी पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष ओमप्रकाश खनाल र वीरगन्ज कलेजेको तर्फबाट कलेका संचालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले हस्ताक्षर गर्नुभएको छ ।