१८ पुष,वीरगञ्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । आजपा पर्सा जिल्ला कमिटीले आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
आजपाले भ्रष्टाचारको विरुद्धमा वीरगन्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने जनाइएको छ । साथै वीरगन्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने आजपाले माग गदै आएको छ । आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पुष २७ गते वीरगन्जलाइ आर्थिक राजधानी घोषणा गराउन तथा भ्रष्टाचार विरुद्ध जागरण गराउने हेतुले खबरदारी सभा गर्न लागेको बताउनुभयो उहाँका अनुसार खबरदारी सभालाई पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले विशेष सम्बोधन गर्ने कार्यतालिका छ ।
सङ्घीय संरचना आउनुभन्दा अघि वीरगन्जलाई राजधानी बनाउने भनिए पनि वीरगन्जसँग धोका भएको, प्रदेशको राजधानी यहाँ बनाउन भनिए पनि षडयन्त्र गरिएको पार्टीका नेताहरुको भनाई छ । आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धराशायी बनाउँदै गरिरहेको आरोप लगाउनुभयो ।