१९ पुष, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले राष्ट्रिय समस्याहरूको समाधान गर्न सबै दल एकठाउँ उभिनुपर्ने निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले संविधान संशोधनका अन्तर्वस्तु, मुलुकमा देखिएका समस्या र अन्तर्राष्ट्रिय संकटमा दलहरूबीच साझा दृष्टिकोण निर्माणको पहल गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले मुलुकसामू आइलागेको समस्या यथास्थितिमा हल हुन नसक्ने भएकाले राष्ट्रिय दृष्टिकोण आवश्यक परेको बताए ।
‘संविधान संशोधनका लागि अलिकति नयाँ शिराबाट सोच्नुपर्छ । यही यथास्थितिवादी ढंगले राष्ट्रमा देखा परेका समस्याहरू, अन्तर्राष्ट्रियस्तरमा भइरहेका समस्या र चुनौतीहरूको सामना गर्न सकिँदैन,’ सापकोटाले भने, ‘यो चुनौतीको सामना गर्न एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ ।’
उनले राष्ट्रिय दृष्टिकोण निर्माण गर्न संसद्मा भएका र नभएका सबै दलबीच बहसको खाँचो रहेको बताए । ‘देशका सबै पार्टीहरू अझ संसद्मा भएका सबै पार्टीहरूका बीचमा राम्रो, खुला, सीधा, पारदर्शी ढंगले छलफल बहस गरिरहनुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसका आधारमा एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गरिनुपर्छ ।’
सत्तामै राष्ट्रिय साझेदारीको प्रस्तावका रूपमा भने यसलाई लिन नहुने सचिव देवेन्द्र पौडेलको भनाइ छ । उनका अनुसार संविधानका अन्तर्वस्तु, ठूला समस्या र अन्तर्राष्ट्रिय संकटका सन्दर्भमा मात्र सबैले एउटै स्वर बनाउनुपर्छ भनिएको हो ।
संविधानको अन्तर्वस्तुमा भने माओवादीले आफ्नो एजेन्डा प्रष्ट रूपमा राख्ने नेताहरूले बताएका छन् । ‘साझा दृष्टिकोण बनाएर जाँदा समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र जनताको एजेन्डा सम्बोधन गरिनुपर्ने अडान रहन्छ,’ पार्टी सचिव देवेन्द्र पौडेलले भने ।
यद्यपि माओवादीको यो निर्णय नभएर प्रस्ताव हो । आगामी २१ र २२ पुसमा केन्द्रीय समिति बैठक बोलाइएकाले त्यही बैठकबाट निर्णय हुनेछ । तर, यो स्थायी समितिले केन्द्रीय समिति बैठकमा राष्ट्रिय समस्यामा सबै दलबीच साझा दृष्टिकोण निर्माणको पहल लिने प्रस्ताव लग्ने भएको छ ।
‘अहिले देश बिपत्को भूमरीमा पर्दैछ । हाम्रो देश शीतयुद्धको इपिसेन्टरमा पनि जाँदैछ,’ उपाध्यक्ष सापकोटाले भनेका छन्, ‘यो देशको रक्षा गर्ने दायित्व समस्त नेपालीको हो । त्यसकारण हामी एक स्वरमा भन्छौं कि नेपाल नेपालीहरूको हो ।’
सापकोटाले नेपालका मामिलाहरूमा नेपालीहरू नै पहलकदमी लिनुपर्ने तर्क गरेका छन् । बिहीबारको बैठकको निष्कर्ष सुनाउँदै सापकोटाले भनेका छन्, ‘यो देश नेपालीहरू नै चलाउनुपर्छ । हामीलाई कसैको हैकम स्वीकार्य छैन ।’
अगाडि बढेर सापकोटाले सबै दलहरूबीच विन–विनको अवस्थामा जान पनि एकठाउँ उभिनुपर्ने प्रस्ताव गरेका छन् । ‘सबै पार्टीलाई के आह्वान र अपिल गर्छौं भने सबैको विनविन सिचुएसन, सबैले जितेजिते जस्तो हुने एउटा महानतम् उद्देश्य अथवा त्यस्तो दृष्टिकोण बनाउनका लागि सबै लागौँ भनेर अपिल गरिएको छ,’ सापकोटाले भने ।
तर, यसको अर्थ सत्तामै राष्ट्रिय साझेदारीको प्रस्तावका रूपमा भने यसलाई लिन नहुने सचिव पौडेलले बताए । उनका अनुसार संविधानका अन्तर्वस्तु, ठूला समस्या र अन्तर्राष्ट्रिय संकटका सन्दर्भमा मात्र सबैले एउटै स्वर बनाउनुपर्छ भनिएको हो ।
‘सरकारको सन्दर्भमा हामी प्रष्ट छौं, यो आफैँ ढल्न सक्छ । तर, हामी सरकार ढाल्न लाग्दैनौं,’ उनले भने, ‘माओवादी जनताको एजेन्डा बोकेर अब जनताकै बीच जाने तयारीमा जुटेको छ ।’