१९ पुष, वीरगञ्ज । वीरगञ्ज लगायत तराईमा आज हुस्सु र कुहिरो लागेको छ । पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सुसँगै चिसो सिरेठो चल्न थालेपछि तराईको जनजीवन कष्टकर बनेको छ । खासगरी बालबालिका, वृद्धवृद्धा, स्कुले विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्नेहरु बढि प्रभावित बनेक छन् । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।
हुस्सु र सिरेटोसँगै बढेको चिसोले बजार तथा कार्यालयहरुमा चहलपहल घटेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । नागरिकलाई चिसोबाट बचाउन प्रदेश र पालिका सरकारले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ । तर मधेश प्रदेश सरकारले राहत पठाउने र जनचेतना बढाउने काम भइरहेको दाबी गरेको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्र कुमार यादवले सबै जिल्लामा कम्बल पठाएको जानकारी दिए । नेपाली सेनामार्फत सबै जिल्लाहरुमा कम्बल पठाइएको र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन कार्यालयले पालिकासँग समन्वय गरेर वितरण गर्ने उनको भनाइ छ ।
चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
यो हप्ताको शुरूदेखि नै तराईका धेरै ठाउँमा बाक्लो हुस्सुसँगै सिरेटो चल्न थालेको हो । तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।
पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।