२० पुष, वीरगञ्ज । वीरगञ्ज लगायत मधेसका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यानु लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर उदयनारायण सिंहले बताए ।
यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम भएको कारण यसबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक रहेको उनको सल्लाह छ ।
अर्का फिजिसियन डाक्टर निरज सिंहले केहीदिन देखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् ।
वीरगञ्ज क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ ।
त्यसैले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।