२० पुष, काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको पर्साको सानोपाइला र चितवनको सहारा चितवन सहकारी ठगी प्रकरणमा प्रहरीले धमाधम अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।
सानोपाइलामा ८ सय बचतकर्ताले जम्मा गरेको झण्डै १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको छ । त्यस्तै, सहारा चितवनका ४ सय ४६ बचतकर्ताले दिएको उजुरीअनुसार झण्डै ३७ करोड रुपैयाँ अपचलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सानोपाइलाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बुझाए पनि पुन फर्काइएको छ ।
अझै बिगो, प्रतिवादी र सम्पत्ति शुद्धीकरणको विषय थप गरेर प्रतिवेदन बुझाउन भन्दै फाइल फर्काएको जानकारी जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले दिए ।
जिल्ला अदालत पर्साले रवि, जीबी र छविलाल जोशी बञ्जाडेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
‘प्रहरीले सहकारी ठगीमा करिब ३७ करोड रुपैयाँ बिगोसहित १४ प्रतिवादीलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको थियो,’ निरौलाले लोकान्तरसँग भने, ‘थप बिगो र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउन भन्दै फाइल फर्काएका छौं ।’
सानो पाइलाले कानूनविपरीत कार्यक्षेत्र बाहिर विना धितो करोडौं रुपैयाँ ऋण प्रवाह गरेको भेटिएको छ । सहकारीका पूर्व सञ्चालक तथा संरक्षक जीबी राईका अन्य कम्पनी, चितवन सहारा, रुपन्देहीको सुप्रिम र पोखरामा सञ्चालनमा रहेको सूर्यदर्शन सहकारीमा समेत ऋण प्रवाह भएको भेटिएको छ ।
प्रहरीका अनुसार बचतमध्येको करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर सहकारीले लगानी गरेको भेटिएको छ । जीबी सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेक्स्ट प्रा.लिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियलस्टेटलाई १ करोड १ लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।
त्यस्तै, जीबी निकटका विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड ७ लाख रुपैयाँ ऋण प्रवाह भएको तथ्य प्रहरीले फेला पारी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
सानोपाइलाबाट पटक–पटक गरी गोरखा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ गएको देखिन्छ । ‘सहारा चितवन सहकारीको तीनवटा शाखाहरू टाँडी, पर्सा र नारायणघाटका व्यवस्थापक दिनेश रोकाको नाममा सानोपाइलाबाट २ करोड ३९ लाख रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘सहारा चितवनकै सञ्चालक समितिका अध्यक्ष सागर केसीको नाममा १ करोड १७ लाख, उपाध्यक्ष हेमन्त अधिकारीको नाममा १ करोड ६७ लाख र सदस्य छत्रमणि भट्टराईको नाममा ८६ लाख ऋण प्रवाह भएको भेटिएको छ ।’
जीबी अध्यक्ष रहेको पोखराको सूर्यदर्शन सहकारीका लोन अधिकृत बुद्धि गुरुङलाई ८६ लाख र सहकारी सञ्चालक समितिका पूर्व सचिव सुरज श्रेष्ठलाई १ करोड ६ लाख रुपैयाँ ऋण प्रवाह भएको तथ्य प्रहरीले फेला पारेको छ ।
प्रहरीका अनुसार सुप्रिम बचत तथा ऋण सहकारीमा कार्यरत कर्मचारी सुनिता पुनको नाममा १ करोड ५ लाख, विष्णुमाया गुरुङको नाममा १ करोड ६ लाख र रोशनी गुरुङको नाममा १ करोड २८ लाख ऋण प्रवाह भएको प्रमाण प्रहरीले फेलापारेको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार सानो पाइला सहकारीका संस्थापक जीबी, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्व सचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो, जसमध्ये प्रहरीले रम्तेल, जोशी, रविलगायत केहीको मात्रै बयान लिएको छ । बाँकी फरार छन् ।
चितवनको सहारा चितवन सहकारी ठगीमा प्रहरीले गत असोज ९ गते नै जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको थियो ।
पूरक जाहेरीका आधारमा फेरि प्रहरीले अदालतबाट रवि र छविसहितविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । दुवैलाई जिल्ला प्रहरी कार्यालय चितवनले सरकारी वकिल कार्यालयमा पेश गरेर बयान गराइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतमकुमार मिश्रका अनुसार हालसम्म कुमार रम्तेल (कास्की कारागारमा रहेका), रवि र छविबाहेक अन्य पक्राउ परेका छैनन् । सबै फरार छन् ।
उक्त सहकारीबाट गोरखा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खातामा ४७ करोड रुपैयाँ गएको सम्बन्धमा प्रहरीले प्रमाण खोजिरहेको छ । प्रहरीले बैंकमा पत्राचार गरेर ट्रान्जेक्सन विवरण माग गरेको छ । कूल ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बिगोसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले तयार गर्दैछ ।
सानोपाइला र सहारा सहकारी ठगीको ‘मास्टरमाइन्ड’ जीबी राई फरार छन् । उनी यी दुई सहकारी मात्रै नभएर रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा समेत फरार रहेका छन् ।
प्रहरीले हालसम्म डिफ्यूजन र रेड नोटिस जारी गरेको छ । कूटनीतिकरूपमा मलेसियास्थित नेपाली दूतावासमार्फत मलेसियन सरकारलाई जीबी पक्राउमा सहयोग गरिदिन पत्राचार गरिएको थियो । त्यसको जवाफ अहिलेसम्म पराराष्ट्र मन्त्रालयले पाएको छैन ।