२० पुष,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको नयाँ नेतृत्वको लागि आईतबार अधिवेशन हुने भएको छ । वीरगञ्जको भिस्वा होटलमा हुने १६ औं अधिवेशनबाट (प्याब्सन) पर्साको नयाँ नेतृत्व चयन गर्ने छ ।
नेतृत्वका लागि यसपटक हालका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी र उपाध्यक्ष शिव गुप्ताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुवैजनाले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् ।
प्याब्सन पर्साको नेतृत्व सहमतिमै चयन हुदै आएकोमा यसपटक नयाँ कार्य समितिका लागि निर्वाचन नै हुने सम्भावना देखिएको छ । सहमतीय प्रणालीमा गएमा पदीय मर्यादा अनुसार बरिष्ठ उपाध्यक्ष चौधरी नै प्याब्सन पर्साको अध्यक्ष स्वतः हुने छन् ।
सहमतीय प्रणालीमा कार्यसमिति चयन हुन नसकेमा लोकतान्त्रिक विधिबाट निर्वाचन मार्फत नेतृत्व चयन हुनेछ । कूल ५१ सदस्य संख्या रहेको प्याब्सन पर्सामा ४८ जनाको मताधिकार रहेको जनाएको छ ।
पछिल्लो पटक थप भएका तीनजना भने पर्यवेक्षकको रुपमा रहनेछन् । पर्साको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको प्याब्सन पर्सा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ ।