२० पुष,वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले आज पर्साको पकाहामैनपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्वास्थ्य शिविरबाट भारतीय सीमावर्ती सहर भेलाहीसँगै जोडिएको पकहाँ मैनपुरका पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले आज पकहाँ मैनपुर गाउँपालिका–३ स्थित रामचरित्र भगत माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको हो ।
शिविरमा ज्येष्ठ नागरिक, महिला,पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउण्डेसन÷क्वेष्ट फर्मास्युटिकल्सको सहयोगमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए ।
शिविरमा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य जाँच गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य सुधार्नको लागि शिविर आयोजना गरेर सह्रायिन काम गरेको बताए ।
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी, जनरल फिजिसियन तथा आँखाको जाँच सेवा प्रदान गरिएको थियो । फिजिसियन डा. रविशंकर साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा.अरविन्द साह, नेत्र अधिकृत महेशसिंह धामीसहितका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी विभिन्न खालको स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
पकहाँमैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट स्थानीय जनताले घरदैलोमै स्वास्थ्य सेवा पाएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पकहाँ मैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।