२१ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा खाली गराएको छ । आज महानगरपालिकाको डोजर लगाएर बिपी उद्यान क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन शुरु गरेको हो ।
आजबाट बिपी उद्यानको खाली गराइएको जग्गामा पार्क निर्माणको काम शीघ्र थालिने महानगर प्रमुखका सल्लाहकार हरि पोखरेलले जानकारी दिए । आज पहिलो चरणमा उत्तर पट्टिको अतिक्रमण हटाइएको र भोली महानगरको डोजर दक्षिण तर्फको अतिक्रमण हटाईने उहाँले बताए ।
महानगरपालिकाको प्रारम्भिक योजना अनुसार, पार्कभित्र मनोरञ्जनात्मक गतिविधिहरू, खेलकुदको व्यवस्थापन, र वरिष्ठ नागरिकहरूको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताए । पार्क निर्माणपछि स्थानीयले हरियाली वातावरण र मनोरञ्जनको नयाँ अवसर पाउने मेयर सिंहको दाबी छ । यसले महानगरको समग्र रूपान्तरण योजनामा ठूलो योगदान दिने विश्वास महानगरको छ ।
महानगरपालिकाले पहिलो पटक १५ दिनको र दोश्रो पटक ७ दिनको समयावधि तोकेर जग्गा खाली गराउन दुई पटक सूचना जारी गरेको थियो । पहिलो पटक गत मङ्सिर २६ गते १५ दिन र दोश्रो पटक पुस १२ गते पुनः ७ दिनको अल्टिमेटमसहित दोस्रो सूचना जारी गरिएको थियो ।