Logo

२१ पुष,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधान खारेज गरिनु पर्ने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको कुरा गर्दै साहले कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध र संविधान संशोधन नभई खारेज गरिनुपर्ने बताए।

‘सरकारले संविधान कार्यान्वयनसम्बन्धी कानुन ल्याउन चाहेन। प्रहरी ऐन अलपत्र छ। निजामति ऐन बेवारिसे छ। संविधानअनुरुपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ। संविधानमा भएका मौलिकहक कार्यान्वयन गर्ने कुनै कानुन बनेको छैन। सरकारलाई संविधान कार्यान्वयनमा चासो छैन,’ उनले भने।

संविधान निर्माण कांग्रेस–एमाले गठबन्धन सरकारले गरेको स्मरण गर्दै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताले संशोधनको कुरा गर्नु अपराध भएको बताए। ‘बरु गलत संविधान बनाई देश र जनतालाई ठगेको कुरा स्वीकारेर कामै नलाग्ने यो व्यवस्था खारेज गर्न उनीहरू सहमत हुन जरुरी छ,’ उनले भने।

यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने साहको भनाई छ। उनले अहिलेको ‘खिचडी व्यवस्था’ खारेज गर्नुको विकल्प नभएको भन्दै दलाल दलतन्त्र र लुटतन्त्रले आम नागरिक निरास बताए। उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्थाको आवश्यकत्ता औंल्याए।


सम्बन्धित समाचार