Logo

२१ पुष, सेंढवा । जंगलको सीमासँग जोडेका किसानहरुले जंगली जनावरहरुबाट बाली जोगाउन रातभरि जाग्राम बस्नु परेको गुनासो गरेका छन्।

जिल्लाको पश्चिमी उतरी क्षेत्रमा रहेका जीराभवानी गाउँपालिकाका सखुवनीया, हरैया, काठमाडौंटोल, शान्तिनगर तथा ठोरी गाउँपालिकाका क्षेत्रीलाईन, गडुवालाईन लगायतका किसानहरु जंगली जनावरहरुबाट पीडित छन्। त्यस्तै पटेर्वासुगौली गाँउपालिकाका भथौडा, भाथा, रंगपुर, सोनबर्षा, सखुवाप्रसौनी गाँउपालिकामा पर्ने औराहा, छतिवन, अकवनिया लगायतका किसानहरु जंगली जनावरबाट बाली जोगाउन समस्यामा परेका गुनासो गरेका छन्।

पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय जंगलबाट आएका चित्तल, हरिण, निलगाई, घोडगद्हा, बदेल, भालू, शाही, मयूर लगायतका जनावरहरुले किसानका बाली नष्ट गर्दै आएका जिराभवानी गाउपालिका वडा नं.–५ सखुवनीया निवासी किसान सुदामा महतो कम्कडले बताए ।

दर्जनौको संख्यामा आउने जंगली जनावरहरुले गहुँ, आलू, तोरी लगायतका बालीमा क्षति पु¥याएको कम्कडले बताए । यी जंगली जनावरहरुबाट बाली जोगाउन किसानहरुले रुखमा मचान तथा जमिन मै झोपडी बनाई बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका कम्कडको भनाई छ ।

खेती गरेका करिब तीन दर्जन भन्दा बढी किसानहरुले राती जंगली जनावरहरु बथान खेतमा आउँदा हो हल्ला तथा टिन ठट्याउदै धपाउने गरेको जीराभवानी गाँउपालिका वडा नं.–५ हरैया निवासी जलकपूर राउत थारुले बताए । रातभर एउटा टर्च र लोरो लिएर घुरको आगो ताप्दै ज्यान जोखिममा पारेर बाली जोगाउनु परेको थारुले दुखेसो पोखे।

‘बाली नलगाऊँ भने के खाने ?

अर्को खेत पनि छैन।’ साझ पर्नसाथ खाना र पानी लिएर बनाइएको छाप्रो वा मचानमा जानुपर्ने र जंगली जनावर धपाउदै रात बिताउनु पर्ने बाध्यता रहेको राउतको भनाई छ ।

यस क्षेत्रमा हरेक किसानको खेतमा एउटा छाप्रो रहेको र सबैजना बाली जोगाउन खेतमा बास बस्नैपर्ने अवस्था रहेका किसानहरुको भनाई रहेका छन्। यता ठोरी गाउँपालिका वडा नं.–५ क्षेत्रीलाईन, गडुवालाइन क्षेत्रमा किसानहरुले जंगली जनावरको आंतकबाट छुटकारा पाउन किसानहरु सुर्ती बाली लगाउन थालेपछि सुर्ती बालीलाई पनि बाँदरको समूहले क्षति पु¥याउन थालेपछि किसान चिन्तित बनेका किसानहरुले जनाएका छन्।

यसका अलावा बिभिन्न जंगली जनावरहरुले नखाए पनि तोरीलाई माडेर नोक्सान बनाउन थालेको किसानहरुको गुनासो छ। मयूरको समूहले पाकेको तोरीलाई टिप्दै क्षति पु¥याएको छ। पर्सा राष्ट्रिय निकुञ्जले जंगली जनावर नियन्त्रणका लागि बिद्युतिय तारबार र मेस जाली जडान गरेपनि जंगली जनावर नियन्त्रण हुन नसकेको किसानहरुले गुनासो गरेका छन्।


सम्बन्धित समाचार