Logo

२२ पुष, रौतहट । रौतहटको दुई पालिकाका विभिन्न स्थानमा रहेको बस्तीमा १२ भन्दा बढी घर हात्तीले भत्काइदिएको छ । जङ्गली हात्तीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो ।

चन्द्रपुर नगरपालिका वडा नं ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्तबहादुर रुम्बा, मीना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर जङ्गली हात्तीले भत्काइदिएको छ ।

हात्तीले जुडिबेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पु¥याएको उनले बताए । चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार, वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षती पु¥याउँदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।

फतुवा विजयपुर नगरपालिका वडा नं ११ वुटवा बस्तीमा ४ घर हात्तीले भत्काइदिएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनाली, लगायतका घरमा हात्तीले क्षति पु¥याएको छ । विगत केही महिनादेखि नगरभित्र रहेको जंगलमा देखापरेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले केरा खेतीमा बढी क्षति गरेको किसानको गुनासो छ ।

सामुदायिक वन क्षेत्रमा ७–८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरू बताउँछन् । उनीहरूका अनुसार हात्ती यस क्षेत्रको वन वरिपरि नै छ । गाउँ नजिकै रातिको समयमा हात्ती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् ।

रातभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाउँलेहरुको गुनासो छ । गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीँबाट हात्ती प्रवेश गरेको हुन सक्ने भन्दै सतर्कता अपनाउन डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।


सम्बन्धित समाचार