२२ पुष, काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए ।
ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु चार करोड ३७ लाख राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए।