२२ पुष, वीरगञ्ज । मधेस विश्व विद्यालयका उपकूलपति र रजिष्टार विवादमा तानिएका छन् । मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य बाल संगठनको जग्गा लिजमा लिएको र आफ्नो निजी क्याम्पसको प्रवर्द्धनमा लागेको आरोप लागेको छ । भने मधेस विश्व विद्यालयका रजिष्ट्रार विजय यादव युवती काण्डमा मुछिएपछि दुवैजना विवादमा तानिएका हुन् ।
वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्राध्यापक डा. शाक्य नेपाल बाल संगठन पर्साको सदस्य हुँदा आफ्नै छोरा संकल्प शाक्यको नाममा वीरगञ्जको मुटु मानिने आदर्शनगरको १२ कठ्ठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको मोलमा दिलाएको तर हालसम्म कबोल गरेको रकम दाखिला नगरेको रहस्यसमेत अहिले आएर खुलेको छ । सो जग्गामा डा. शाक्यका छोरा संकल्प शाक्यले आदर्श विद्यालय चलाउँदै आएका छन् ।
२०६८ असार २१ गते भएको सम्झौता अनुरुप दुई वर्षको लागि १६ हजार एकसय र त्यसपछि २१ ह्जार एकसयको दरले मासिक बाल संगठनलाई दिने र प्रत्येक तीन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने सर्त अनुरुप डा. शाक्यले जिम्मेवारी पूरा नगरेको पाइएपछि उनी विवादमा तानिएका हुन् । त्यस्तै रजिष्ट्रार यादव र विश्वविद्यालयमै कार्यरत एक युवतीको प्रेमकाण्ड चर्चामा आएको छ ।
यादव र युवती अंकमाल गरेको, विभिन्न पर्यटकीय स्थलमा डेटिङ गरेको फोटो बाहिरिएपछि विश्वविद्यालयका पदाधिकारीहरुको पर्दाफास भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यको निजी कलेज वीरगंज पब्लिक कलेजमा कार्यरत यादवलाई शाक्यकै सिफारिसमा रजिष्ट्रारमा नियुक्त गरिएको स्रोतको दावी छ ।
पर्साका उच्च राजनीतिक घरानासँग सम्बन्ध रहेको भनिएकी ती युवतीले यादवको श्रीमतीसँग सामाजिक सञ्जालमा च्याट गरेर धम्की दिएको प्रमाणसमेत बाहिरिएको छ । यसरी उपकुलपति र रजिष्ट्रार जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिहरु नै विवादमा तानिएपछि विश्वविद्यालयको प्रतिष्ठामाथि गम्भीर आँच पुगेको बौद्धिकवर्गमा निराशा छाएको छ ।
त्यति मात्रै होईन उपकूलपति प्राध्यापक डाक्टर शाक्य र रजिष्ट्रार यादवको मिलेमतोमा गुपचुप विश्वविद्यालयका अन्य कर्मचारीहरूको नियुक्ति गरिएको आरोप पनि छ । मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले शाक्यलाई भिसी र यादवलाई रजिष्ट्रार नियुक्त गरेको थियो । विश्वविद्यालयका दुवै पदाधिकारी विवादमा तानिएपछि मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारी शर्माले समाचारमा आएको विषयले गम्भीर बनाएको बताईन् ।
विश्वविद्यालय जस्तो बौद्धिक संस्थामा रहेका व्यक्तिहरुले आफ्नो व्यक्तिगत आँचरणको समेत ख्याल नगर्नु दुर्भाग्य भएको उनको भनाई छ । उनले भननिन्, ‘उहाँहरुको व्यक्तिगत जीवनमा जे भएपनि संस्थासँग जोडिएपछि अनुशासित र मर्यादित हुनुपर्ने हो । समाचार पढेर दुःख लागेको छ । यो घटनाले मधेस प्रदेशलाई नै बदनाम गर्ने हो कि भन्ने चिन्ता बढाएको छ । बलिदानीपूर्ण संघर्षबाट पाएको उपलब्धिलाई पनि यसले बदनाम गराएको छ ।’
विश्वविद्यालयकी सहकूलपति समेत रहेकी मन्त्री शर्माले आफू हिजै काठमाडौं गएको बिहान खबर पाएपछि आश्चार्यमा परेको बताउदै आज साँझ फर्किएर भोली नै दुवैजनालाई मन्त्रालयमा बोलाउने बताईन् । उनले मधेस प्रदेशलाई नै बदनाम गराउने षड्यन्त्रहरु धेरै भईरहेको भन्दै यस्ता विषयहरुका सञ्चार माध्यम पनि संवेदनशील भएर प्रदेशको परिवर्तन विकासमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिन् ।