२३ पुष, वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज स्थित नारायणी अस्पतालका विभिन्न विभागमा प्रयोग हुने ६० वटा उपकरणहरुको मर्मत गरेको छ ।
आविष्कार केन्द्रले आईसीयु, सीसीयु, रेडियोलोजी, डायलासिस, एनआईसीयु/अप्रेसन थिएटरमा प्रयोग हुने ६० वटा महत्वपुर्ण उपकरणहरुको मर्मत गरेको हो ।
६० वटा उपकरण मध्ये ३२ वटा मेशीन बिना कुनै स्पेयर पार्टसकै मर्मत भएको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।
अस्पतालका विभिन्न वार्डका महत्वपुर्ण मेशिन तथा उपकरणहरु लामो समयदेखि विग्रएर थन्किएको थियो । नारायणी अस्पताल विकास समितिले ती उपकरणहरुको मर्मत सम्भारका लागि पुष ११ गते राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो ।
आविष्कार केन्द्रले सम्झौता भएको एक सातामै ६० वटा उपकरणको सफल मर्मत गरेर सेवाको अपेक्षालाई मजबुत बनाएको विकास समितिका अध्यक्ष गुप्ताको भनाई छ ।
गुप्ताले भने, “उपकरणहरूको मर्मतले आईसीयु, सीसीयु, रेडियोलोजी, डायलासिस, एनआईसीयु/अप्रेसन थिएटर लगायतका विभागहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ । र बिरामीहरुको उपचार प्रक्रियामा सहजता ल्याएको छ ।”
राष्ट्रिय आविष्कार केन्द्रलाई धन्यावाद दिदै गुप्ताले केन्द्रको सहयोगले अब अस्पतालको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा औल्याएका छन् ।