२३ पुष,वीरगञ्ज । वीरगन्जस्थित मानव सेवा आश्रममा आश्रितहरुको उपचारमा आवश्यक पर्ने औषधि स्वास्थ्य कार्यालय पर्साले सहयोग गरेको छ ।
मानव सेवा आश्रमलाई स्वास्थ्य कार्यालय पर्साले ८४ हजार रुपैयाँ बराबरको ४१ प्रकारका औषधिहरु सहयोग गरेको हो । रेसखबर र नारायणी एफ.एमले हिजो मानवसेवा आश्रममा मानसिक स्वास्थ्य उपचार लगायतका औषधि अभाव भएको समाचार प्रसारण गरेको थियो ।
त्यहि समाचारको प्रभावले आज स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहसहितको टोलीले आश्रममै पुगेर आश्रमका संस्थापक देवेश गुप्तालाई औषधि प्रदान गर्नुभएको हो । मानव सेवा आश्रम वीरगन्ज शाखामा हाल अभिभावक विहिन र बेसाहरा गरी ५५ जना आश्रितहरु छन् ।
आज उनिहरुलाई स्वास्थ्य कार्यालय पर्साका तर्फबाट कोभिड खोपको बुस्टर डोजपनि लगाइदिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
रेस खबर डटकम र नारायणी एफ.एम.ले मानव सेवा आश्रममा औषधि अभाव रहेको समाचार सम्प्रेषण गरेपछि मंगलबार जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि उपलब्ध भएको थियो । औषधि प्राप्त भएपछि मानव सेवा आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले नारायणी एफ.एम. र रेस खबर डटकमलाई धन्यवाद दिए । उनले औषधि अभावको बारेमा समाचार सम्प्रेषण गरेर औषधि उपलब्ध भएको भन्दै धन्यवाद दिएका हुन् ।
आश्रममा रहेका आश्रीतहरुमध्ये कतिपयको मानसिक अवस्था ठिक नरहेको, बृद्धबृद्धाको स्वास्थ्यमा निरन्तर समस्या देखिने गरेकोले उपचारमा आवश्यक पर्ने प्राथमिक उपचारका औषधिका साथै मानसिक रोग, विभिन्न प्रकारका एन्टिबायोटिक, दुखाई कम गर्ने औषधि, आँखा र कानको औषधि गरी ४१ प्रकारका औषधि स्वास्थ्य कार्यालयले उपलब्ध गराएको छ ।
औषधि उपलब्ध गराएकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद दिदैं सहयोगले आश्रममा रहेकाहरुको उपचारमा सहजता हुने मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले बताए ।