२३ पुष,वीरगञ्ज । नेपाली नागरिकताको सिफारिस अब अनलाईन प्रणालीबाट हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सुमन कुमार कार्कीले आज सार्वजनिक सूचना जारी गर्दै प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले अनलाईन प्रणालीबाटै नागरिकताको सिफारिस हुने जनाएको छ ।
स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्स्टर्नल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रतिलिपि बाहेकको नेपाली नागरिकता प्रमाण पत्र जारी गर्न अनलाइन मार्फत सिफारिस गर्ने व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
यसको लागि स्थानीय तहका सूचना प्रविधि अधिकृत तथा वडा सचिवहरुलाई जिल्ला प्रशासन कार्यालय, पर्साको समन्वय र सहजीकरणमा गृह मन्त्रालयद्वारा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम समेत दिइसकेको छ ।
अनलाईन प्रणालीका लागि सबै स्थानीय तहको युजर आईडी समेत बनि सकेकोले यहि पुष २८ गते देखि पर्साका ११२ वटै वडा कार्यालयबाट अनिवार्य रुपमा अनलाइन प्रणाली मार्फत नयाँ नगरिकताको सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेको छ ।
गृहमन्त्रालयले नागरिकताको अनलाईन सिफारिस प्रणाली लागू गरेकोले यसको प्रमाभावकारी कार्यान्वयनका लागि सूचना जारी गरिएको र यसबाट सेवाग्राहीले कागजपत्र लिनु नपर्ने र सेवाप्रवाहमा पनि सुधार हुने सहायक प्रमुख जिल्ला अधिकारी सुमनराज कार्कीले बताए ।