Logo

२४ पुष, काठमाडौँ । भारतको नयाँ दिल्लीमा आगामी फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले दिल्ली विधानसभा चुनावको मिति तय गरेको हो ।

दिल्ली विधानसभाको नतिजा भने निर्वाचनको तीन दिनपछि अर्थात् फेब्रुअरी ८ मा आउने जनाइएको छ । दिल्लीमा कुल १ करोड ५५ लाख मतदाता रहेका छन् जसमध्ये ८३ लाख ४९ हजार पुरुष छन् भने ७१ लाख ७४ हनार महिला रहेका छन् ।

पहिलो पटक मतदान गर्ने मतदाताको संख्या करिब २ लाख रहेको आयोगले जनाएको छ । राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने पनि आयोगको भनाइ छ ।

दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टीको सरकार रहेको छ । आम आदमी पार्टीले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै भारतीय जनता पार्टीले २९ उम्मेदवार तथा काँग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।

सन् २०२० मा भएको दिल्ली विधान सभाको पछिल्लो चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । त्यस्तै भारतीय जनता पार्टीले ८ सिट जित्दा भने काँग्रेस शून्यमा रहेको थियो । दिल्लीमा काँग्रेस त्यसअघि २०१५ मा भएको चुनावमा एक सिट पनि ल्याउन सकेको थिएन । २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले प्रचण्ड बहुमत९७० मध्ये ६७० ल्याएको थियो । त्यस्तै भारतीय जनता पार्टीले भने ३ सिटमा चित्त बुझाउनु परेको थियो ।

अन्ना हजारेको सामाजिक आन्दोलनमा संलग्न रहँदै गर्दा अरविन्द केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । २०१३ मा भएको चुनावमा आम आदमी पार्टीले २८ सिट जितेको थियो । आम आदमी पार्टीले अहिले पञ्जाबमा समेत सरकार चलाइरहेको छ । त्यस्तै सन् २०२२ को गुजरात विधान सभा चुनावमा ५ सिट जितेको आम आदमी पार्टी राष्ट्रिय पार्टीसमेत बनिसकेको छ ।


सम्बन्धित समाचार