२४ पुष,काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ ।
जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस अन्तिमतिर पुग्दै गर्दा प्रशासनले सुरक्षा कडा बनाएको हो ।
पोखराका मुख्य चोकसहित संवदेनशील स्थानहरूमा बुधबारदेखि सुरक्षा कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
‘निषेधाज्ञा लगाइएको भनेर समाचार आइरहेका रहेछन् । त्यस्तो केही होइन । प्रशासनले संवेदनशीलता हेरेर सुरक्षा कडा बनाउने कुरा नियमित प्रक्रिया हो’, उनले भने, ‘निषेधाज्ञा लगाउने हो भने प्रशासनले पूर्वसूचना निकाल्छ, सर्वसाधारणलाई सार्वजनिक रुपमा जानकारी दिन्छ । सुरक्षा संवदेनशीलता हेरेर पोखराका केही स्थानमा कडाइ गरिएको मात्र हो ।’
जिल्ला अदालतमा मुद्दाको अन्तिम टुंगोतिर जाँदै गर्दा पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीअगाडिको राष्ट्रबैंक चोक, वाइचोक र सहिद चोक क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
उनीसहित सबै ७ जना प्रतिवादीको बहस सकिन लागेको अवस्थामा सम्भावित हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । लामिछानेबारेको बहसले निचोडमा पुग्नै लाग्दा प्रशासनले मुख्य चोकमा कडाइ गरेको हो ।
अदालतको आदेश आउन लागेको अवस्थामा मंगलबारदेखि नै प्रशासनले सरकारी कार्यालय र अदालत रहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।
मंगलबार मात्रै लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकले अदालतबाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।
मुद्दाको आदेश आउने अवस्थामा देशभरबाट रास्वपाका समर्थकहरू जम्मा हुन सक्ने सम्भावना छ । त्यहीकारण सुरक्षाकर्मी पनि बाक्लो संख्यामा सडकमा परिचालन गरिएको छ । उता, सहकारीपीडितहरू पनि ठूलो संख्यामा सडक निस्किने भएकाले प्रशासनले सतर्कता बढाएको हो ।