२५ पुष, काठमाडौँ । मौसम सुक्खा हुँदा हिउँदे बालीको उत्पादनमा ह्रास आउने खतरा बढेको छ । हिउँद सुरु भएयता आकाशेपानी पर्न नसकेकाले पहाड र तराई क्षेत्रमा लगाइएको गहुँ, तोरी तथा अन्य हिउँदे बालीलाई असर गरेको छ ।
बालीविद् डा डिल्लीराम शर्माका अनुसार यसपटक विशेषगरी पहाड र तराईमा हिउँदे बालीका लागि मौसम प्रतिकूल छ । तर हिमाली क्षेत्रमा भने हिउँ परेकाले मौसम अनुकूल नै रहेको उनको भनाई छ । विशेषगरी यो वर्ष तोरी र गहुँ जस्ता हिउँदे बाली उत्पादनमा कमी आउन सक्ने तर हिमालमा भने आलु उत्पादन बढ्न सक्ने बालीविद् शर्माले बताए ।
जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने आकलनपछि कृषि मन्त्रालयले उत्पादनमा ह्रास आउँछ भने त्यसअनुसार पूर्वतयारी भने हुननसकेको जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ ।
“जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको छ । कृषि मन्त्रालयले पनि हिउँदे बालीको उत्पादन घट्नसक्नो भनेको छ तर त्यसअनुसार पूर्वतयारी भने गरिएको देखिँदैन ।”
पूर्वानुमान अनुसारको तयारी नगर्दा व्यवस्थापन गर्न नसकिने गरी सङ्कट आउनसक्ने भन्दै उप्रेतीले यसको पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताए ।
डा उप्रेतीले हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष तथा गहिरो असर पर्ने भन्दै असर न्यूनीकरणका लागि आवश्यक नीति तय गर्न आग्रह गरे ।
“हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धि हुने संकेत गर्दै त्यसले खाद्य सङ्कट निम्तन सक्छ र अर्थतन्त्रमा समस्या सिर्जना हुनसक्ने तर्क उप्रेतीले गरे ।
कृषिमा आश्रित किसान हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइलाई थप बढाउन योगदान गर्नेहुँदा समयमै योजनाबद्ध ढङ्गले अगाडि बढ्ने तर्क उप्रेतीको छ ।