२५ पुष,काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार, अनिललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्ता गरेका थिए ।गत सोमबार मोरङ जिल्ला अदालतले अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीमाथि वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाशप्राप्त सप्तरीका बैआलाल चौधरीबाट रकम लिएको आरोप छ । चौधरीकी छोरीको नाम एमबीबीएसमा निकालिदिने नाममा अनिलले २०७१ देखि ०७३ को बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझेको आरोप लागेको छ ।