Logo

२५ पुष,चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापन शुरु गरेको छ । चलु आर्थिक वर्षमा २५० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम शुरु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले ३७ लाख ५० हजार खर्चमा घाँसे मैदान व्यवस्थापन शुरु गरिएको बताउँदै कसरा, लामिताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्ती लगायत क्षेत्रमा विस्तारै काम गरिने जानकारी दिए । उनले भने “वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसे मैदान व्यवस्थापन हुँदै आएको छ ।”

घाँसे मैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरण सँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए । अहिले कसरा क्षेत्रमा घाँसे मैदान व्यवस्थापन भइरहेको भन्दै हाल सम्म ६० हेक्टर क्षेत्रफलमा काम सकिएको उनले जानकारी दिए ।

निकुञ्ज ९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जस मध्ये ८ हजार ९ सय ५५ दशमलव दुई हेक्टर क्षेत्रफल घाँसे मैदानका लागि उपयुक्त मानिन्छ । गत वर्ष ४० लाख ७० हजार खर्च गरेर ३ सय ७० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो । कोभिड अघि सम्म घाँसे मैदान व्यवस्थापनमा धेरै बजेट विनियोजन हुने गरेको भए पनि अहिले निकै न्यून बजेटमा काम हुने गरेको थापामगरले बताए । रासस


सम्बन्धित समाचार