२६ पुष,काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले स्थलगत निरीक्षण र मौखिक निर्देशनका लागि डेढ महिनामा १६ जिल्ला भ्रमण गरेका छन् ।
खानेपानी आयोजनाको निरीक्षण, अवलोकन तथा अनुगमन गर्न भनेर उनी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ तथा मन्त्रालयका सह–सचिवहरू समेतलाई लिएर जिल्ला दौडाहामा लागेका हुन् ।
जिल्ला भ्रमणमा प्रायः प्लेन चढेर जाने गरेका मन्त्री यादवले हुम्ला र डोल्पा पुग्न हेलिकप्टर चार्टर्ड गरेका थिए । यसबीचमा उनी कतै पार्टी कार्यालय उद्घाटन, त कतै घुमघाम गर्न समेत पुगेको देखिन्छ ।
मंसिर २८ गते हुम्लाको सिमीकोट र मंसिर १५ गते डोल्पाको ठूलीभेरी नगरपालिका जाँदा उनले हेलिकप्टर चार्टर्ड गरेका थिए । भ्रमण टोलीमा सचिवसहित मन्त्रालयका कर्मचारीहरू पनि सामेल थिए ।
उनी पुस २४ गते सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको अत्तरिया र लम्कीचुहा, पुस २३ गते धनगढी, पुस १९ गते पर्साको वीरगञ्ज, पुस १७ गते बुटवल, पुस १६ गते पाल्पा पुगेका थिए ।
उनी पुस ६ गते नुवाकोट, पुस ३ गते सिन्धुपाल्चोकको मेलम्ची, पुस ३ गते धुलिखेल, मंसिर २८ गते हुम्ला, मंसिर २५ गते वीरगञ्ज, मंसिर २४ गते झापा, मंसिर १६–१७ गते सुर्खेत पुगेका थिए ।
मंसिर १५ गते डोल्पा, मंसिर १४ गते पोखरा, मंसिर ९ गते विराटनगर र मंसिर ८ गते उनी झापा पुगेका थिए ।
प्रायः पुगेका ठाउँमा उनले निर्देशन दिएको भनेर फोटोसहितको विवरण फेसबूकमा राख्ने गरेका छन् ।
स्थलगत निरीक्षण र अनुगमनका नाममा मन्त्री यादवले गरेको जिल्ला भ्रमणको बिल अहिलेसम्म खानेपानी मन्त्रालयमा पेश नगरिएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रामबाबु पुरीले बताए ।
’प्रधानमन्त्री कार्यालयबाट नै मन्त्रीज्यूहरूको जिल्ला भ्रमणको खर्च महिनामा साढे दुई दिनको मात्र दिने भनेर निर्देशनसहितको परिपत्र भएको छ,’ पुरीले भने, ’मन्त्रीज्यूले विभिन्न जिल्ला भ्रमण गरेको भएपनि बिल भने पेश भएको छैन । नियमानुसार साढे दुई दिनको भ्रमण खर्च मात्र उहाँलाई भुक्तानी हुन्छ ।’
जिल्ला भ्रमण गर्न जाँदा राज्यलाई केही क्षति नभएको उनको दाबी छ ।
’कमसेकम जुन जिल्लामा जानुभएको छ, त्यहाँको कार्यालयका समस्या थाहा पाउनुभयो होला,’ पुरीले थपे, ’कार्यालयमा सरसफाइ भएको होला । अधुरा आयोजना सम्पन्न गर्ने, त्यहाँका आयोजना प्रमुखहरूलाई निर्देशन दिने कुराले कामकाज प्रकावकारी बनाउन दबाब पुगेको होला ।’
मन्त्रालयमै बस्नुभन्दा फिल्ड भ्रमण गरेको कुरालाई सकारात्मक नै लिनुपर्ने उनको जिकिर छ ।
यी हुन् निर्देशनको नाममा गरिएको भ्रमणको विवरण
२०८१ पुस २४ गते मन्त्री यादव सुदूरपश्चिम प्रदेशको अत्तरियास्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सञ्चालन र व्यवस्थापनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भए । आगामी आर्थिक वर्षको बजेटमा हाटखोला–कालाखोला मुहानबाट शुद्ध खानेपानी ल्याएर नागरिकलाई वितरण गर्न बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनी फर्किए ।
त्यही दिन उनले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा निर्माण भइरहेको लम्कीचुहा सहलगानी आयोजनाको स्थलगत अनुगमन गरे । निर्माण व्यवसायीलाई तोकिएको समयमा कार्य सम्पन्न गर्न निर्देशन दिए ।
’नागरिकका खानेपानी समस्या बुझ्न र समाधान गर्न म केही महिनादेखि दुर्गम क्षेत्रहरूमा पुगिरहेको छु । नागरिकलाई शुद्ध पानी उपलब्ध गराउनु मेरो प्रमुख लक्ष्य हो,’ यादवले सामाजिक सञ्जालमा लेखेका थिए ।
२०८१ पुस २३ गते उनी धनगढीमा सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी भए । उक्त गोष्ठी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आयोजनामा सम्पन्न भएको थियो ।
’देशभरका नागरिकलाई खानेपानी उपलब्ध भए÷नभएको जानकारी लिइरहेको छु । म जनताको सेवक हुँ, र जनताको समस्या समाधानका लागि सधैं तत्पर छु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरे ।
२०८१ पुस १९ गते यादव गृहनगर वीरगञ्ज पुगे । उनले त्यहाँ जनता सडकअन्तर्गत रामराजापुलदेखि प्रसौनी, विर्ता, सबैठवा हुँदै इनर्वा–मनियारी–भवानीपुर–जगरनाथपुरसम्म (५ किलोमिटर) खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरे ।
सोही दिन बाराको कलैयामा पनि उनले नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरे ।
२०८१ पुस १७ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको निरीक्षण गर्दै उनले ५ जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ योजनाहरूको प्रगतिबारे जानकारी लिए । उनले निर्माण व्यवसायीलाई तोकिएको समयमा योजना सम्पन्न गर्न निर्देशन दिए ।
२०८१ पुस १६ गते पाल्पाको तानसेन–कालिगण्डकी वृहत् खानेपानी आयोजना निरीक्षण गरे ।
’करिब ५० हजार जनसंख्यालाई सेवा दिने लक्ष्यका साथ यो आयोजना शुरू गरिएको छ । यसलाई समयमै सम्पन्न गर्न निर्देशन दिएको छु,’ उनले लेखेका थिए ।
त्यसैदिन बुटवल खानेपानी सुधार आयोजनाअन्तर्गत झुम्सा १ नम्बर पुल विवादका विषयमा पनि उनले स्थलगत निरीक्षण गरे ।
उनले आयोजनाको प्राविधिक टोलीसँग परामर्श गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
२०८१ पुस ६ गते नुवाकोटको विदुर नगरपालिकामा उनले निर्माणाधीन खानेपानी आयोजनाको निरीक्षण गरे । उनले ढल प्रशोधन र वायोग्यास उत्पादनसम्बन्धी संरचनाको स्थलगत अवलोकन पनि गरे । ’वायोग्यास संरचना सञ्चालनका लागि विदुर नगरपालिकासँग सहमति भएको छ,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
२०८१ पुस ३ गते राति मेलम्ची खानेपानी पाइप विस्तार कार्यको छड्के गर्न भन्दै उनी निस्किएका थिए ।
’काठमाडौं उपत्यकाका क्षेत्रहरूमा सहजरूपमा पानी वितरण गर्न नयाँ पाइपलाइन बिछ्याइएको छ । चुहावट भएको पाइप मर्मत गरी परीक्षण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको छु,’ उनले भने ।
२०८१ पुस २ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजनास्थल पानीपोखरीको अनुगमन गरे । उनले उपत्यकामा स्वच्छ र न्यायोचितरूपमा खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन दिए ।
२०८१ मंसिर २८ गते उनले हेलिकप्टर चार्टर्ड गरी हुम्लाको सिमकोटमा खानेपानी तथा सरसफाइ आयोजनाको निरीक्षण गरे ।
मंसिर २५ गते वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको शाखा कार्यालयको अनुगमन गरे । ’कार्यालयको सेवा प्रवाह र व्यवस्थापनमा सुधारका लागि कर्मचारीहरूलाई निर्देशन दिएको छु,’ उनले लेखेका छन् ।
मंसिर २४ गते उनी पार्टीका युवा नेता दिलिप साहका भाइ दीपक साहको विवाहमा पुगेका थिए । त्यसका लागि उनले सरकारी कार्यालय अनुगमन भनेर अवसर जुराएका थिए ।
मंसिर १७ गते कर्णाली प्रदेशको सुर्खेतमा भेरी लिफ्टिङ खानेपानी आयोजना निरीक्षण गरे ।
उनले आयोजनाको प्रगतिबारे जानकारी लिँदै समयमै सम्पन्न गर्न निर्देशन दिए । सोही दिन उनले सुर्खेतमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको उद्घाटन गरे ।
मंसिर १५ गते हेलिकप्टर चार्टर्ड गरी डोल्पा पुगे । उनले ठूलीभेरी नगरपालिका–६ स्थित काएखोली खानेपानी योजनाको उद्घाटन गरे । सोही अवसरमा से–फोक्सुण्डो तालको अवलोकन पनि गरे ।
मंसिर १४ गते पोखरामा उनले भरतपोखरी–कृष्ति–निर्मलपोखरी खानेपानी आयोजना निरीक्षण गरे । ’आयोजनालाई निर्धारित समयभित्र गुणस्तरीयरूपमा सम्पन्न गर्न निर्देशन दिएको छु,’ उनले भने ।
मंसिर ९ गते मोरङको उर्लाबारीमा वृहत् सहलगानी आयोजनाको उद्घाटन गर्न पुगे । तर, मुख्यतः पार्टीको कामका लागि विराटनगर गएका थिए । मंसिर ८ गते झापाको मेचीनगर नगरपालिका पुगेर दुहागढी र काँकरभिट्टामा उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग भेटघाट गरे ।
’संस्थाहरूले उपभोक्ताहरूका लागि गरिरहेका उल्लेखनीय कार्य, सञ्चालन गरिएका कार्यक्रमहरू तथा चुनौतीको बारेमा जानकारी लिँदै स्थलगत अनुगमनसमेत गरेको छु ’ उनले लेखेका छन् ।साभार लोकान्तर