२६ पुष,जनकपुरधाम । सत्तारुढ जनमत पार्टीका मधेश प्रदेश सांसद सञ्जय यादवले वर्तमान सरकारको सात महिनाको कामको विश्लेषण गरी सात वर्षको बेतिथि ढाकछोप गर्न नमिल्ने बताएका छन् ।
जनमत नेतृत्वको सरकारले सात महिनामा विकासको काम पनि अगाडी बढाउन नसकेको विषयमा विगत तीन दिनदेखि प्रदेशसभा बैठकमा बहस भइरहेको छ ।
सो सन्दर्भमा आजको प्रदेशसभा बैठकमा बोल्दै यादवले भने– विगतका सात वर्षको सरकारको बेथिति कहानी सबैलाई थाहा छ । त्यसैले चुनावमा फरक परिणाम आयो । फेरी पनि ०८४ को चुनाव आउँदैछ । कामको मुल्यांकन जनताले अवश्य गर्नेछ ।’
प्रतिपक्षी दलका साँसदहरुले रोजगारीको एजेण्डा जनमत पार्टीको हो तर जनमतकै सरकारले के गर्यो भन्ने प्रश्न मुख्यमन्त्रीसँग तेर्साएका छन् । त्यस विषयमा साँसद यादवले रोजगारीको एजेण्डा मात्र जनमतको हो भने सबै दलले आफ्नो एजेण्डा रोजगारी दिने नभएको भनेर स्वीकार्न चुनौती दिए ।
उनले बजेट खरिद विक्रीको जुन बेथिति छ, त्यसलाई रोक्न खुल्ला प्रतिस्पर्धा टेण्डरबाट काम गराउने निर्णय भएको बताए । उनले अर्थ बेगरको बहस रोकेर प्रदेशलाई समृद्ध बनाउने विषयमा केन्द्रित हुन आग्रह समेत गरे ।