२६ पुष,काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन्।
बालेनले लेखेको पत्रमा अहिले खटिई आएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेकाले नयाँ माग गरिएको उल्लेख छ।
पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा खटिई आउनु भएका प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानबिन भइरहेको हुँदा हाल उहाँ बिदामा बस्नु भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन अनुरोध छ।’
महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावरको नक्सा पास नवीकरण गर्दा अनियमितता गरेको भन्दै गुरागाईंलाई कारबाही सिफारिस गरेपछि हाल निलम्बन परेका छन्।
उनी निलम्बनमा परेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मालाई राखिएको थियो तर उनले राजीनामा दिएपछि हाल महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ।