२७ पुष, काठमाडौँ । आउँदो बैशाखमा महाधिवेशन तोकेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले महाधिवेशनका लागि निर्देशिका तयार पारेको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेर लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको छ ।
निर्देशिकामा वडातहदेखि माथिल्लो तहसम्मको अधिवेशन गराउने, चुनाव गराउने विधि र महाधिवेशन प्रतिनिधि चयन पद्धतिकाबारेमा निर्देशिकामा उल्लेख गरिएको कार्यदलका सदस्य मनिष मिश्रले जानकारी दिए । लोसपाले आगामी वैशाख २६ मा महाधिवेशन तोकेको छ ।
पटकपटक विभाजित लोसपाले यसपटक लामो समयपछि महाधिवेशन गर्न लागेको हो । अहिले सदस्यता नवीकरण र स्थानीय प्रतिनिधि भेलाका कार्यक्रम पनि निरन्तर गर्दै आएको छ ।