२७ पुष,वीरगञ्ज । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखपुरले नियन्त्रणमा लिएको भैंसी र पाडाको विषयमा त्रिपक्षीय आरोप प्रत्यारोप चलेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिखमपुरले शुक्रबार ट्रक सहित ११ वटा भैंसी र ९ वटा पाडा नियन्त्रणमा लिएको थियो ।
भारतबाट तस्करी गरिएको आशंकामा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुई जनालाई पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा रहेको पाडा बजारबाट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले अनावश्यक रुपमा भैंसी व्यापारीलाई दुख दिएको आरोप लगाएको छ । जितपुरका भैंसी व्यापारी मोहम्मद हासिम अन्सारीले आज नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरेर प्रकृया पुगेको कागजपत्र सबै भएपनि प्रहरीले विना कारण भैंसी र पाडा नियन्त्रणमा लिएको बताए ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भैसी र पाडा सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझाउने क्रममा कागजपत्रको सम्पूर्ण प्रकृया पूरा गरेको पाईएकोले वीरगन्ज भन्सारले लिन नमानेको र सशस्त्र प्रहरीले ब्यापारीलाई फिर्ता पनि नदिएको ब्यापारी अन्सारीको आरोप छ ।
व्यापारी मोहम्मद हासिमले पत्रकार सम्मेलनमा भैंसी छोड्नका लागि सशस्त्र प्रहरीले पैसा पनि मागेको आरोप समेत लगाए । अन्सारीले भैंसी ढुवानी गर्ने ट्रकका चालक र भैंसी धपाउने गोठालासँग सशस्त्र प्रहरीले दुईलाख रुपैंया पैसा मागेको दावी गरे ।
सशस्त्र प्रहरीले भने नियन्त्रणमा लिईएको भैंसी र पाडाको विषयमा सम्बन्धित निकायले नै अनुसन्धान कारवाही गर्ने भएकोले तस्करी भएको आशंकामा नियन्त्रणमा लिएर बुझाईएको बताएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले तस्करी गरेको आशंका लागेमा वा विशेष सूचनाको आधारमा नियन्त्रणमा लिने गरेकोले त्यसपछि वैध हो वा अवैध हो भन्ने अनुसन्धान गर्ने निकायले नै बताउने बताए ।
उनले कागजपत्र र प्रकृया मिलेको नमिलेको विषयमा सशस्त्र प्रहरीलाई अधिकार नभएकोले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने काम मात्रै सशस्त्र प्रहरीको रहेको बताउनुभयो ।
भन्सारले बुझ्न नमाने कारण सहित खुलाएर लेखेर दिनुपर्ने सशस्त्र प्रहरी उपरीक्षक धिमालको तर्क छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भैंसी र पाडाको कागजपत्र हेर्दा सबै दुरुस्त रहेको पाईएको बताए ।
उनले सरसर्ती हेर्दा कागजपत्र सबै देखिएको छ । भीसीटीएस, भेटनरी, वडाको सिफारिस लगायतका सबै कागजपत्र हेर्दा तस्करी भएको जस्तो नदेखिएको बताए ।