२७ पुष, सेढवा (पर्सा)। आदिवासी थारु समुदायले मनाउने माघीको तयारीका लागि पर्साको ग्रामीण भेगमा चहलपहल शुरु भएको छ । माघ १ गते माघे संक्रान्तिका दिन मनाईने खिचडी अर्थात माघीको तैयारीका थारु समुदाय व्यस्त देखिएका छन् । आदिवासी जनजाति थारु समुदायको नयाँ बर्ष २६४९ शुरु हुने भएकाले यो समुदायले बिशेषमा रुपमा यो पर्व मनाउने गरेका छन् ।
ग्रामीण भेगका आदिवासी थारु लगायत अन्य आदिवासी जनजाति समुदायले पनि यो पर्व मनाउने तैयारीमा जुटेका छन्। शनिवार मौसममा सुधार भई घाम लागेपछि थारु समुदायका गृहिणीहरु घर आँगनको सरसफाई गर्ने, लत्ता कपडा धुने लगायतका काममा व्यस्त रहेका छन्। यसका साथै पर्वका लागि भुजाको लड्डु, चिउराको लड्डु, तिलको लड्डु, कसार लगायतका सामग्रीको तैयारी तथा किनमेलमा व्यस्त छन्।
माघ १ गते अर्थात माघीका दिन बिहान स्थानीय खोला, नदी तथा जलाशयमा स्नान गर्ने तथा किसानले उत्पादन गरेका चामल, भुजा, तिल, रामदानाको लड्डु तथा नयाँ बाली आलु, तोरी, नून लगायतका सामग्री स्पर्श गरी पुरोहितालाई दान दिने चलन रहेको छ ।
माघीको सौगातका रुपमा छोरीचेलीको तथा अन्य आफन्तको घरमा माछा, मासु, मिठाई तथा बिभिन्न किसिम्मका अन्य खानाका परिकार पु¥याउने चलन थारु समुदायमा रहेको छ । थारु संम्बत २६४९ को अवसरमा बीरगंज सहित पर्साको ६ स्थानमा खिचडी बिशेष कार्यक्रम आयोजना हुने भएको छ ।
बीरगंजको आदर्शनगरमा रहेको स्वीमिंग पूलमा माघीर खिचडी महोत्सव मनाउन तैयारी भइरहेको माघी मूल समारोह समितिका सदस्य मनोज चौधरीले बताए। पुष २९ साँझ दीप प्रज्वलन गरिने र माघ १ गते घण्टाघरदेखि र्याली सहित स्वीमिंग पूलमा कार्यक्रम मनाउने चौधरीले बताए। सो माघी कार्यक्रममा आदिवासी थारु समुदायका परम्परागत रितिरिवाज, भाषा, पहिरन तथा खानाका परिकार लगायतका बिभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिने चौधरीले बताए।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकाले वडा नं.– ४ को खेल मैदानमा माघी मेलाको आयोजना गर्दै छन् । व्यवस्थापनको जिम्मेवारी पालेका माघी मूल समारोह समितिका अध्यक्ष मुकेश गौरोले मेलाको तैयारी अन्तिम चरणमा पुगेको बताए । पटेर्वासुगौलीमा यस पटक माघ १ गतेदेखि ३ गतेसम्म माघी मेलाको आयोजना हुने अध्यक्ष गौरोले बताए।
यस मेलामा खुल्ला रक्तदान हुने साथै जितिया पर्व, थारु समुदायबाट लोप भइरहेका घाटों पर्व, थारु जातीमा बिवाहको समयमा गाइने परम्परागत गीतको समेत प्रदर्शन हुने अध्यक्ष गौरोले बताए। कार्यक्रममा नेपाली निरहुवा, समिक्षा चौधरी, रितु चौधरी र सुनिल पंडितको प्रस्तुती हुने जनाइएको छ ।
यसका साथै जिराभवानी गाँउपालिकाको सहयोगमा यूवा प्रगतिशील समाज नेपालले खिचडी बिषेश कार्यक्रमको आयोजना गर्दै छन। वडा नं २ सेढवाको खेलमैदानमा हुने कार्यक्रमको तैयारी भइरहेको यूवा प्रगतिशील समाज नेपाल को अध्यक्ष चन्दन महतोले बताए। कार्यक्रममा थारु समुदायको लोप भइरहेका परम्परागत पहिचानको संरक्षणका लागि चेतनामूलक प्रदर्शन हुने अध्यक्ष चौधरीले बताए।
यसका साथै हास, कुखुरा, परेवाका मासुका प्रकार, माछा, गंगटो, अनहीको परिकार पनि प्रदर्शनमा राखिने चौधरीले बताए। कार्यक्रममा राष्ट्रिय थारु कलाकार ममता चौधरी, स्थानीय थारु कलाकार नेपाली निरहुवा तथा बिभिन्न बिद्यालयका छात्रछात्राहरुको सांस्कृतिक प्रस्तुती हुने महतोले बताए।
यसका साथै जिराभवानी गापा वडा १ पकडीटोल, सखुवाप्रसौनीको पञ्चगावा, पर्सागढीको बढनियारमा पनि माघी बिषेश कार्यक्रम आयोजना हुने जनाइएको छ ।