Logo

२८ पुष, महोत्तरी । महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ ।

विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालु आव २०८१/८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक्राउ गरी उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०/८१ मा तीन थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै नौ राउण्ड गोली बरामद गरेको छ ।

आव २०८०/८१ मा प्रहरीले आठ जनालाई हतियारसहित पक्राउ गरेको थियो । चार जनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९/८० मा पनि एक थान पेस्तोल र चार थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउण्ड गोली बरामद गरेको थियो ।

पाँच जनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीन जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रवक्ता जैसवारले बताए ।

उनले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेको आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताए ।


सम्बन्धित समाचार