Logo

२८ पुस,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जको हरेक ऐतिहासिक, धार्मिक स्थलहरुको जानकारी वीरगञ्जमा बस्ने सबैले राख्नुपर्ने बताएका छन् ।
वीरगञ्जको बारेमा जानकारी नै नराखी वीरगञ्जको विषयमा धारणा बनाउनु उचित नहुने उनको भनाई छ ।

साउथजोन माध्यामिक विद्यालयले विद्यार्थीहरुको लागि आयोजना गरेको आत्मबल बढाउने एकदिने उत्प्रेरणा तालिमको उदघाटन गर्दै मेयर सिंहले वीरगञ्जका ऐतिहासिक र धार्मिक स्थलहरुको विकासले मात्रै वीरगञ्जको विकास सम्भव रहेको बताए ।

उनले वीरगञ्जका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा वीरगञ्जको बारेमा जानकारी गराउन आग्रह गरे । काम गर्नेहरुकै आलोचना हुने बताउदै ती आलोचनाबाट सच्चिएर अगाडि बढे मात्रै सफल हुन सकिने बताए ।
विद्यार्थीहरु आफ्नो उर्जाको स्रोत रहेको बताउदै मेयर सिंहले वीरगञ्जको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा पनि आफूलाई सुझाव दिन विद्यार्थीहरुसँग आग्रह गरे ।

साउथजोन माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विदालय अर्गनाईजेशन (प्याब्सन) का केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्याब्सनका जिल्ला उपाध्यक्ष बिरेन्द्र प्रसाद यादव, सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, उत्प्रेरणा तालिमका प्रशिक्षक डा.तारा गिरी, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रमका देवेश गुप्ता, जसपा वीरगन्ज महानगर अध्यक्ष इश्वर यादव, थारु विद्यार्थी समाजका केन्द्री सचिव विकास चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण साउथ जोन माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए । साउथ जोन माध्यामिक विद्यालय र मूनलाईट माविका कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षक डा.तारा गिरीले प्रशिक्षण दिएका छन् ।


सम्बन्धित समाचार