Logo

२९ पुष, काठमाडौँ । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ ।

यसअघि आइतबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो । अदालतले प्रहरीको जिम्मा लगाएसँगै लामिछाने प्रहरी हिरासतमा छन् ।

लामिछानेको मुद्दा शुक्रबार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुनुवाइ भएको थियो । अदालतले उनलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराउन भनेको छ ।

आज सुरुमा सरकारी वकिलहरूले बहस गर्नेछन् । सबै पक्षको बहस आजै सकिए लामिछानेलाई पुर्पक्षका लागि हिरासतमा पठाउने या तारेखमा रिहा गर्नेबारेमा आदेश आउन सक्छ । बहस आजै सकिन्छ कि सकिँदैन भन्न सकिने अवस्था नरहेको बताइएको छ ।

यदि आज सबै पक्षको बहस नसकिएमा भने लामिछानेलाई पुनः हिरासतमा पठाइन सक्नेछ । यसअघि जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । लामिछानेविरुद्ध पोखरा र काठमाडौंका साथसाथै चितवन, बुटवल तथा वीरगञ्जमा पनि मुद्दा छ ।


सम्बन्धित समाचार