१ माघ,काठमाडौं । देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।
२०८१ साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड गरिएको ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ । ती घटनामा ८०७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मापसे गरी सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन् । उक्त अवधिमा काठमाडौं उपत्यकामा भएका ३७७ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ३९९ जना घाइते भएका छन् ।
सबैभन्दा कम दुर्घटना कर्णाली प्रदेशमा भएका छन् । उक्त समयमा कर्णाली प्रदेशमा भएका १२ दुर्घटनामा १४ जना घाइते भएका छन् । एकजनाको पनि ज्यान गएको छैन ।