Logo

१ माघ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चा गरेसँगै मधेश केन्द्रित राजनीतिक दल एक ठाउँमा उभिएका छन्।

संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमतिको खाका तयार पार्न मधेश केन्द्रित राजनीतिक दलको कार्यदलस्तरीय बैठकमा काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा जारी छ।

बैठकले आफूहरूको संवादलाई निरन्तरता दिने निर्णयसमेत गरेको जनमत पार्टीका प्रवक्ता शरद यादवले जानकारी दिएका छन्। संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति भएको उनले बताए।

बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ।

बैठकमा जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र सहभागी छन्।

यस्तै बैठकमा जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव, जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत नेता सहभागी छन्।

तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल बैठकमा सहभागी छैन।

 


सम्बन्धित समाचार